..महाभूकम्प गएको महिना बित्यो, अब के हुन्छ ? यसो भन्छन् भूकम्पविद्
Advertisement

विश्वास खड्काथोकी
काठमाडौं, १२ जेठ । विनाशकारी महाभूकम्प गएको मंगलबार एक महिना पुगेको छ । गत वैशाख १२ र २९ गतेको भूकम्पले तुलनात्मक रुपमा ठूलो क्षति पुर्‍यायो । भूकम्पको ‘आफ्टर सक’ भने निरन्तर जारी छ । यस्तो ‘आफ्टर सक’ कम्तीमा पाँच महिनाभन्दा बढी हुन सक्ने विज्ञहरु बताउँछन् । यसको उदाहरणको रुपमा वि.सं. २०४५ सालको भूकम्पलाई नै लिन सकिन्छ । त्यतिबेला उदयपुरलाई केन्द्रविन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पको ‘आफ्टर सक’ कहिलेकाँही अहिले पनि आउँछ ।

नेपालले अहिलेसम्म दुई ठूला भूकम्पको सामना गर्‍यो, वि.सं. १९९० र २०७२ सालमा।
१९९० मा भोजपुरलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पले काठमाडौंमा समेत ठूलो क्षति पुर्‍याएको थियो । त्यतिबेला नेपालमा भूकम्प मापन यन्त्रहरु समेत थिएनन् । त्यतिबेला ६ दिनसम्म उत्तिकै ठूलठूला भूकम्पहरु गएका थिए । तर त्यसपछिका पराकम्पनहरु भने सामान्य रहे ।
यो समाचार तयार पार्दासम्ममा गत बैशाख १२ गतेपछि २ सय ६७ वटा पराकम्पन गैसकेका छन् । यस्ता परकाकम्पनले मानिसहरुलाई अझै आतंकित बनाइरहेको छ । अर्कोतिर मानिहरु आफै पनि भुकम्पबरे अनेक अड्कलबाजी गरिरहेका छन् । उनीहरुले ठूलो भूकम्प गएको बार, पहिना दिन, समय मिलाएर अर्को ठूलो भूकम्प जान्छ भनेर आफुखुसी भबिष्यबाणी गरिरहेका छन् । तर यसमा कुनै सत्यता नभएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी बताउँछन् । भन्छन्, ‘भूकम्प कहिले जान्छ भनेर संसारमा कसैले पनि अनुमान गर्न सक्दैन् । भूकम्पपछिका सानातिना पराकम्पन गइरहने भएपनि, ठूलो भूकम्पबारे भविष्यवाणी गर्नु मुर्खता हो ।’ उनी अब नेपालमा लामो समय ठूलो भूकम्प जाँदैन भनेर भन्न यसकारण डराउँछन् कि, नेपाल भूकम्पीय जोखिम क्षेत्र हो ।

हालै हुम्लामा पनि भूकम्पको सानो धक्का महसुस गरियो । कतिले यसलाई गत बैशाख १२ गतेकै पराकम्पनको रुपमा लिए । तर त्यो भने पराकम्पन थिएन । केन्द्रका प्रमुख अधिकारी भन्छन्, ‘अहिलेको पराकम्पनले सिन्धुपाल्चोक, दोलखा, गोरखा, लम्जुङ लगायतको ठाउँलाई केन्द्रबिन्दु बनाएको आएको छ । यो काठमाडौं, नुवाकोटसम्म पनि आइपुग्यो । ठूलो भूकम्प जहाँ गएको थियो, त्यसैको वरिपरी केन्द्रबिन्दु बनाएर पराकम्पनहरु आउने गर्छन् ।’
अधिकारीले ६ रेक्टर स्केलसम्मको भूकम्पले कुनै असर नगर्ने बताउँछन् । उनले नागरिकलाई आफै बिज्ञ बनेर सुरक्षित रहन आग्रह गर्छन् । बिगतको अभ्यास र विश्वका उदाहरणलाई हेर्ने हो भने ठूलो भूकम्पपछि अर्को ठूलो भूकम्प गएको रेकर्ड छैन् ।

भूकम्पको प्रभाव यति गढेको छ कि, अझै पनि मानिसहरु टेन्ट र पालमा बसिरहेका छन् । काठमाडौंमा ठूलो भूकम्प जाने डरले गाउँ फर्किएकाहरु अझैसम्म राजधानी आउन सकेका छैनन् । अझै पनि राजधानी सुनसान जस्तै छ । जसरी दशैमा हुन्थ्यो । राजधानी पर्खिनेवालाहरुले पर्ख र हेरको सिद्धान्त अपनाएका छन् । भूकम्पको मनोबैज्ञानिक त्रास डरलाग्दो गरी गढेको छ । तर भूकम्प मापन केन्द्रका प्रमुख अधिकारी भने सुरक्षित बनेर दैनिक जीवनमा फर्कन आग्रह गर्छन् । भन्छन्, ‘नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र हो । भूकम्पबाट जोगिन हामीले आत्मबल दह्रो बनाउनुको बिकल्प छैन ।’ उनले अब ठूलो भूकम्प आउँदैन भनेर भन्ने विज्ञहरुको प्रतिक्रियालाई भने हावादारीको सज्ञा दिन्छन् ।
भूकम्प मापन केन्द्रले कसरी काम गरिरहेको छ ?

नेपालमा दुईवटा भूकम्प मापन केन्द्र रहेका छन् । एउटा राजधानी र अर्को सुर्खेतमा । काठमाडौंमा ८ जना कर्मचारी रहेका छन् भने सुर्खेतमा ११ जनाको दरबन्दी रहेको छ । तर तथ्याङ्कमा खेल्ने काम भने राजधानीमा रहेको केन्द्रले मात्र गर्ने गर्दछ । अहिले पनि सम्पूर्ण काम राजधानीबाटै भईरहेको छ । दुरगामी दृष्टिकोण बनाएर सुर्खेर र राजधानीमा केन्द्र राखेको अधिकारी बताउँछन् ।
उनले भने, ‘डाटामा खेल्ने संस्था भनेको राजधानीमा मात्र छ, सुर्खेतमा त्यति सामाग्रीहरु छैनन् ।’ पूर्वमा ठूलो भूकम्प आयो भने राजधानी र काठमाडौं असपासमा ठूलो भूकम्प आयो भने सुर्खेतले हेर्ने ढंगले दुई ठाउँमा कार्यालय राखेको उनी बताउँछन् । अहिलेसम्म भूकम्प मापन गर्ने प्रविधिले भने धोका नदिएको उनी बताउँछन् ।
स्रोत - दैनिक नेपाल

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.