.फेसबुकमा आदर्श छाट्ने आफू सिन्को नभाँच्नेलाई कुरिकुरि
Advertisement
उनको मनले सोध्यो?
न म डाक्टर, न म हट्टाकट्टा लोग्ने मान्छे न मसँग पैसाको बिटो नै छ।
न म घाइतेको उपचार गर्न सक्छु। न म पुरिएको थुप्रोबाट लाश निकाल्न सक्छु। न अब राहत बाँडन गाँउ गाँउ चर्हान सक्छु।
एकछिन घोत्लिन् अनि गतिलो जवाफ भेटेपछि जवाफ दिइन्। ए मन, सबै भन्छन् मलाई मिठो चिया पकाउन आउँछ। के म त्यही गरौ त । वैशाख १२ गते उनको मनसँग कुरा गर्दागर्दै बित्यो।
भोलिपल्ट बिहान सबेरै उठिन्। एउटा ठूलो भाडामा चिया पकाइन्, फटाफट।
चार वटा थर्मसमा चिया बोकेर उनी जोरपाटीको मेडिकल कलेज हानिइन्। अस्पताल अस्तब्यस्त थियो। उपचार गर्दागर्दै बचाउन नसकेका लाशहरू आर्यघाट लगिँदै थिए। कसैका लोग्ने कसैका छोराछोरी परेका छन्। मान्छे घण्टौदेखि रोइरहेका छन्। डाक्टरहरू उपचारमा दौडादौड गर्दैछन्।
कहाँबाट शुरु गर्ने भेउ पाइनन्, अलमल्ल परिन्।
एक्कासी परबाट आवाज सुनिन्। मसिनो स्वरमा एक जना घाइते कसैलाई गुनासो सुनाउँदै थिए, ‘हाम्लाई दबाई खाने पानीसमेत ल्याइदिने मान्छे छैन हजुर।’
उनी हत्तपत्त घाइते छेउ पुगेर भनिन् दाई यो चियासँग औषधी खानुस्। अन्जान महिलाको बोलीले घाइतेको चोट लागेको अनुहारमा मुस्कान देखियो।
तातो चियाले उसको घाउँमा मलम लगायो। अनि रेबु गुरूङको मनमा सहयोग गर्ने आँट।
अलि पर एक लस्कार घाइते, आफन्तहरू अनि स्वास्थ्यकर्मीहरू उपचारमा ब्यस्त थिए। उनले सबैलाई चिया बाँडिन्। चिन्दै नचिनेको हातले बाँडेको चिया ५ मिनेटमा सकियो। सबैले उनलाई धन्यबाद दिए। उनी धन्यबादको खुसी बोकेर घर फर्किइन्।
तीन दिन लगातार त्यही प्रकिया दोहोरियो। उनको चिया अपर्याप्त थियो अस्पतालमा अहोरात्र खटिने डाक्टरदेखि बिरामीका लागि।
बैँकबाट ४० हजार झिकिन्।
उनले क्याटरिङबाट ३० लिटर चिया अट्ने ठूलो भाडा मगाइन्। ३० लिटर चिया पकाउन उनलाई ३ घण्टा लाग्थ्यो। त्यो काम सबेरै उठेर गर्नुपर्थ्यो। अनि चियाका बडा बडा थरमस बोकेर उनी एक्लै अस्पताल चहार्थिइन्। एक कप चियाबाट सुरू भएको उनको दैनिकी १५ सय नाघिसकेको थियो।
बिहान ७ बजे र साँझ ५ बजे अस्पतालका घाइतेहरु रेबु दिदीका चिया कुरेर बस्थे।
एक जना घाइतेका आफन्तले रेबुलाई भने, ‘दिदी भूईचाँलो पछि चिया होटल खोल्नुपर्छ। तपाईँले बनाको चिया साह्रै मिठो। होटल मज्जैले चल्छ।’ रेबु 'हुन्छ हुन्छ' भाई भनेर ठट्टा गर्थिन्।
रेबुले ९ दिनसम्म भुईचाँलो प्रभावितका लागि चिया ख्वाएर सहयोग गरिन। त्यसपछि बिस्तारै पसलहरू खोलिन थाले। रेबु अब भूकम्प प्रभावित विद्यार्थीहरूको लागि सहयोग गर्ने अभियानमा छिन्।
***
रेबु विदेशिएको लोग्नेको श्रीमती। ५ बर्षको सानो चकचके छोरो छ उनको। मनमा धेरै विचार आयो। म एउटी आमा। बच्चा हेर्नुपर्छ सहयोग गर्न कहाँ धाउन सक्छु र? रेबु मात्रै हैन हामी सबैको मनमा त्यही प्रश्न उठ्दो हो ।
म आफैं नेदरल्याण्डको तीन महिने बसाई सकेर वैशाख १३ गते नेपाल फर्किएकी हुँ। घर पुग्ने बित्तिकै ममीले हाँस्तै ‘वेलकुम टु होम’ भनेर मलाई बारिभित्रको त्रिपाल इसाराले देखाउनुभएको थियो।
म भारी लगेज बोक्दै ठूस्स परेर छिरेकी थिएँ। त्यो रात निद्रै परेन। बिबिसी, अलजजिरा अनलाइनमा देखाएका मान्छेका कथाहरुले मन भारी भएको थियो। भोलिपल्ट बिहान निस्किएँ। पशुपति आर्यघाटतिर।
त्यहाँ लाशको ओइरो थियो। नरूने कोही देखिनँ। रुदाँरुदाँ थाकेको एउटा कलिलो अनुहार देखेँ। उनको छेउ एक हुल चिम्सा आँखाहरु गुनगुन गर्दे थिए। तिनीहरू मलामी रहेछन् त्यो कलिलो अनुहारको रङ हराएको थियो। किनकि छेउको चितामा सुताइएको मान्छे उसको लोग्ने रहेछ।
पछि थाहा भयो उनी बालाजुकी १८ वर्षीया सरिता तामाङ रैछिन्। उनीहरू दुबै जना घरले पुरिएका थिए। आठ घण्टापछि उनलाई आर्मीले निकाले तर उनकै उमेरको लोग्नलाई भूईचाँलोले लगेछ।
लोग्नेको लाशमा आगो हाल्दा उनी चिच्याएर रोइन। छातिको देब्रे पाटोमा मुड्कीले हान्दै मेरो मुटु दुख्यो मेरो मुटु दुख्यो भनेर भक्कानिइन्। मैले उसलाई च्याप्प अँगालो हालेर भने, ‘दिदी नरूनु न म छु नि तपाईसँग।’ त्यहाँ भएका हामी सबै रोयौ।
नचिनेका धेरै अनुहारले सरितालाई अँगालो हाले। सरितालाई राहतको खाँचो थिएन। उसको दुःख सुन्ने साथको खाँचो थियो। हामीले सबैले यति सहयोग त गर्न सकिहाल्छौं नि।
***
अहिले मिडियामा खाली राहतका कुरा सुन्छु। फलानोले यति राहत दिए फलानोले राहत दिएनन्। सोसियल मिडिया फेसबुक र ट्विटरमा एउटा बहस छ। नालायक सरकार, फलानोको भष्ट्राचार अनि विदेशीले गरेको सहयोगको वाह वाही!
हामी दिनभर फेसबुकमा अरूलाई गाली गरेर स्टाटस अपडेट गर्छौं। तर, आफूले चैं के गरे भनेर आफैंलाई सोध्न बिर्सन्छौं। मैले फेसबुकमै पढेको थिएँ। कसैले लेखेको थियो काठमाडौमा यत्रो बिपत्ति हुदाँ तिमीहरु भाग्यौ होइन? मतलबीहरू। एकजना काठमाडौंबासीको हुँडार थियो त्यो स्टाटस।
हामी सोसियल मिडियाका विद्धानहरू अरूलाई गाली गर्न कहाँ छोड्छौं र!
साँच्चिकै एउटा कुरा सोध्नै मन लाग्यो? ‘काठमाडौं कसैको पेवा हो कि अधिकार हो? काठमाडौं त हामी सबै नेपालीको राजधानी हो क्यारे। घरबास भत्किएपछि उनीहरु गाउँमा आफ्ना दुःख साट्न हिँडेका थिए। त्यसरी बाहिरिएकाले ठूलो गुन लगाए। एक काठमाडौंमा पानीको हाहाकार हुन पाएन। राहत वितरणमा राजधानीको बाटो खुला भए। फोहरले महामारी फैलिन पाएन। त्यसैले धन्यबाद जो गाँउ फर्के अनि काठमाडौंलाई अर्को बिपत ल्याउनबाट सहयोग गरे।
***
केही दिन अघि म नुवाकोटका केही गाविसहरू पुगेँ। नुवाकोटको नौतले दरबार नजिकैको ५६ वर्षीय भैरव परियारलाई भेटेँ। २०५६ सालमा बनाएको उनको घर ढलेछ। गाँउका जान्ने सुन्नेहरुले घर चर्किएकाहरुलाई त्रिपाल, ब्ल्याङ्केट र चामलका बोरा बाँडे। हामिलाई पानी छेक्ने प्लास्टिक पनि दिएनन् भनेर गुनासो पोख्दै थिए। मैले उनलाई जसले त्यस्तो अन्याय गर्छन् चुप लागेर नबस्नुस् कराउनुस् भनेँ।
भैरवले खेतमा खाजा पकाउन आगो फुक्दै गरेकी बुहारीलाई डाँके। बुहारी हतारहतार अनुहारभरिका पसिना पुछ्दै आइपुगिन्। भैरवले भने, ‘देवकी अब बाँस खोज्न हिडेस् मसँग।’
बुहारीले ‘बाँस, किन र बुवा’ भनिन्। भैरबले कस्सिएर भने, ‘हाम्रो घर भत्कियो। हाम्रो घर हाम्लेनै बनाउनपर्छ।’
भैरव आफनो परिवारका लागि सानो टहरा बनाउन हौसिए। सरकारको मुख नताकी उनले आफ्नै परिवारको लागि गरेको सहयोग थियो। सायद राहत यही हो। सबैजना सबैका लागि राहत बन्न सक्ने गतिलो उदाहरण पनि।
***
मेरो एकजना डेनिस साथी छ। ऊ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्छ। नेपाल आउनुअघि उसले आफ्नो देशमा इन्जिनियरिङको काम गरेको लामो अनुभव भोगेको छ। अब ऊ केही महिना बेतलबी बिदा बसेर नेपालका गाँउ गाँउ डुलेर स्थानीयलाई घर बनाउने सोंचमा छ। एउटा विदेशी आफूले जानेको सहयोग गर्न तत्पर छ। हामी चैँ किन विद्धता हाँक्न र विश्लेषण गर्न मात्रै जान्दछौ। यो प्रश्न पनि सोधौं न है एकचोटी आफ्नै मनलाई। हो सरकारले भनेजत्तिको काम गर्न सकेन। तर, हामीले चैं के गर्यौं? झुट बोले पाप लाग्ला है। सोचम् त।
कसैले सोच्दै नसोचेको भूकम्पले हाम्रै घरगाउँ, मन्दिर, शहर गर्ल्यामगुर्लुम लड्यो। हामी सप्पैका हजारौं सपनाहरु लडे। धेरै मान्छे भूकम्पको कम्पन सहन नसकेर थाकेका छन्। अब पनि त्यसले यो गरेन त्यो गरेन हैन मेले चाँहि के गर्ने भनेर सोचम न है।
नत्र हामी जतिका तन्नेरीले फेसबुक र ट्विटरमा विचार मात्रै लेख्दा कुरी कुरी भन्छन् है सबैले।source setopati.com/

Advertisement