पाँच रुपैयाँ लोभ गर्दा २५ हजार धरौटी
Advertisement

नयाँ पत्रिका काठमाडौं, २३ जेठ वीर अस्पतालछेउमा फार्मेसी चलाउने सन्तोष बास्तोलाले पाँच रुपैयाँ लोभ गर्दा २५ हजार धरौटी तिर्नुपरेको छ । होलसेलमा दुई रुपैयाँ ४५ पैसा पर्ने मास्क भूकम्पपछि १० रुपैयाँमा बेच्दा उनी १९ वैशाखमा पक्राउ परेका थिए ।

बढी नाफा कमाउन खोज्दा दुई सातासम्म थुनामा बस्नुपर्‍यो भने उनीसँग काठमाडौं जिल्ला प्रशासन कार्यालयले २५ हजार रुपैयाँ धरौटी मागेको छ । १२ वैशाखको भूकम्पपछि महँगोमा सामान बेच्ने बास्तोलाजस्तै अन्य २४ जना पनि पक्राउ परेका छन् । विपत्का वेला काजोबजारी रोक्न प्रहरी र वाणिज्य विभागले महँगोमा सामान बेच्नेलाई पक्राउ गरी कारबाही गर्न थालेको छ । १६ वैशाखमा वीर अस्पतालअगाडि सार्वजनिक स्थानमा १० रुपैयाँमा मास्क बेच्ने अर्का बब्लु गुप्तालाई पनि जिल्ला प्रशासन कार्यालयले २५ हजार धरौटी मागेको छ । खानीखोला हार्डवेयर पसलका सञ्चालकलाई पनि महँगोमा सामान बेचेकोमा ५५ हजार धरौटी मागिएको छ । विपत्का वेला कालोबजारी गर्ने हरिराम मालाकार, सरिता जिसी, सुमन महर्जन, रमात्र खत्री, करण बास्तोला, सुमन अधिकारी, प्रमोद साह, वीरेन्द्र चौधरी, उद्धव खतिवडा, अच्युतप्रसाद आचार्य, एकेन्द्र लामा, पीताम्बर पोखरेल, दिलीपकुमार चौधरी, प्रमोद पटेल, सुदीप नेपालीलगायतलाई पनि पक्राउ गरी कारबाही गरिएको काठमाडौं प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलले बताए । ‘हामीले २४ जनालाई कालोबजारी मुद्दामा कारबाही गरेका छौँ,’ एसपी पोखरेलले भने, ‘प्रमाण नपुगेका सातजनालाई सार्वजनिक अपराध मुद्दामा कारबाही गरिएको छ ।’ सार्वजनिक अपराध मुद्दा चलाइएकाहरूमा कमल दुलाल, हीराकुमारी चौधरी, प्रकाश तामाङ, सञ्जीव भण्डारी, गोविन्द लुइँटेल, पूर्णप्रसाद सिवाकोटी, अमित गुप्तालाई प्रहरीले सार्वजनिक अपराध मुद्दामा कारबाही गरेको हो । औषधि, चामल, म्याट, मास्क, खानेकुरालगायतको बढी मूल्य लिएर बिक्री गर्नेलाई प्रहरीले कारबाही गरेको हो । वाणिज्य विभाग र प्रहरीबीच असमझदारी बजार अनुगमनको विषयलाई लिएर काठमाडौं प्रहरी र वाणिज्य विभागबीच असमझदारी भएको छ । प्रहरीले पक्राउ परेका कालोबजारी गर्ने व्यापारीलाई वाणिज्य विभागले छाड्न दबाब दिएको जनाएको छ । वाणिज्य विभागले भने प्रहरीले अनुगमनमा असहयोग गरेको दाबी गरेको छ । वाणिज्य विभाग र नेपाल प्रहरीको संयुक्त अनुगमन टोलीले गत ४ जेठमा बानेश्वरस्थित भरोसा फार्मेसीका सञ्चालक पीताम्बर पोखरेललाई पक्राउ गरेको थियो । ८३ रुपैयाँ पर्ने औषधिलाई सय लिएर बिक्री गरेको आरोपमा पोखरेललाई वाणिज्य विभाग र प्रहरीको टोलीले पक्राउ गरेको थियो । महानगरीय प्रहरी वृत्त बानेश्वरले उनीविरुद्ध कालोबजारी मुद्दामा अनुसन्धान गरिरहेका वेला वाणिज्य विभागले सो मुद्दामा पुनर्विचार गर्न ६ जेठमा प्रहरीलाई लिखित आग्रह गरेको थियो । त्यही विषयलाई लिएर दुई निकायबीच विवाद बढेको हो । वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेले भने फार्मेसी सञ्चालकले पछि आफूले महँगोमा औषधि बिक्री नगरेको भन्दै दाबी गरेपछि त्यही बिलसहितको पत्र प्रहरीलाई पठाइएको, तर छाड्न दबाब नदिइएको बताए । आफ्नो कर्मचारीको गल्तीले औषधि बिक्री गर्दा अर्काे बिल पर्न गएको भन्दै भरोसा फार्मेसीका सञ्चालकले निवेदन दिएका थिए । तर, प्रहरीले अनुगमनका क्रममा भेटिएको प्रमाण बलियो हुने भन्दै पक्राउ परेका फार्मेसीका कर्मचारीलाई नछाडेपछि विवाद भएको हो । पोखरेललाई जिल्ला सरकारी वकिलको कार्यालयले ११ जेठमा तारेखमा छाडिसकेको छ । विभागमा अनुगमनका लागि प्रहरीले दुईजना सधैँ खटाउँदै आएकोमा केही दिनअघिबाट तानिएको थियो । त्यसपछि विभाग र काठमाडौं प्रहरीबीच विवाद बढेको छ । source:nayapatrica

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.