राहत बेच्ने पाँच जनाविरुद्ध कालोबजारी मुद्दा
Advertisement
धुलिखेल : भूकम्पपिडितको राहत बिक्री गर्ने पाँच जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाएको छ ।
भूकम्पपिडितका लागि ल्याएको राहतको चामल र चिउरा बिक्री गरेको आरोपमा प्रहरीले काभ्रेको कोशिपारीको चौवास गाविस–७ का ५५ वर्षीय सूर्यबहादुर लामा (तामाङ), गोठपानी गाविस–९ का ५६ वर्षिय गुणप्रसाद चौलागाइँ, सोही वडाका ५१ वर्षीय कृष्णप्रसाद चौलागाइँ, सानोबाङथली–७ की ठूली लामा र धुसेनी शिवालय–६ की कान्छी लामालाई कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी तथा सूचना अधिकृत राजकुमार केसीले बताए ।
राहतको चामल र चिउरा बिक्री गरेको पाइएपछि प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकाविरुद्ध कालोबजारी ऐनअन्र्तगत मुद्दा चलाई जिल्ला अदालत काभ्रेबाट दश दिनको म्याद थपी अनुसन्धान अघि बढाइएको केसीले बताए ।
कालोबजारी ऐनअन्र्तगत पाँच वर्षसम्म कैद सजाय, बिगो बमोजिम जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
कोशीपारीका भूकम्पपीडितका लागि चौवास गाविस–७ बस्ने अशोक लामाले बैशाख २३ गते खाद्य संस्थानको लोगो भएको ३० किलोका दुई सय बोरा चाम, सिता फुड इण्डष्ट्रिजको २० किलोको ताईचिन चिउरा एक सय बोरा र नुन पाँच बोरा कोशिपारी लगेका थिए ।
गोठापानी–९ का कृष्णप्रसाद चौलागाइँ गुणप्रसाद चौलागाइँको किराना पसलमा ५ बोरा चामल र पन्ध्र बोरा चिउरा, सानो बाङ्थली–७ स्थित ठूली लामाको घरमा ३० बोरा चामल र पाँच बोरा चिउरा बरामद भएको थियो ।
त्यसैगरी धुसेनी शिवालय–६ स्थित कान्छी लामाको घरबाट दश बोरा चामल प्रहरीले बरामद गरेको थियो ।source lumbini khabar
Advertisement