सिटी यातायातका सम्पूर्ण मिनीबस बन्द
Advertisement

सुन्दरीजल, असार ३ – गाडी चालकमाथि स्थानीयवासीले हातपात गरेको भन्दै एमाओवादी निकटको अखिल नेपाल मजदुर सङ्गठनले सुन्दरीजल–रत्नपार्क–कालिमाटी–कलङ्की रुटमा चल्ने सिटी यातायातका सम्पूर्ण मिनीबस बन्द गरेका छन् । 

मजदुर सङ्गठनले बस सञ्चालनमा रोक लगाएपछि यस क्षेत्रका जोरपाटी, गोकर्णेश्वर, बालुवा नयाँपाटी, सुन्दरीजल, गागलफेदी, आलापोट र भद्रवास गाविसका स्थानीयवासी सात किलोमिटरसम्म पैदल यात्रा गरेर आवतजावत गर्न बाध्य भएका छन् । आइतबार नयाँपाटी ओरालोमा बा२ख ८१९५ नम्बरको गाडी तीव्र गतिका कारण खेतको गह्रोमा पल्टेको थियो । 

मनपरी गाडी चलाएर पल्टाएको भन्दै आक्रोशमा आएर स्थानीय उपभोक्ताले चालकमािथ सामान्य हातपात गरेका थिए । आइतबार नै सिटी यातायात व्यवसायी सेवा समिति र स्थानीय उपभोक्ताबीच सहमति भई गाडी सञ्चालनमा आएको थियो । आज एक्कासि चालक परिचालक संलग्न एमाओवादी मजदुर सङ्गठनले गाडी बन्द गरेर उपभोक्तालाई सास्ती दिएको उपभोक्ता समितिका अध्यक्ष श्यामप्रसाद कर्माचार्यले बताए । 

सिटी यातायात व्यवसायी सेवा समितिका कार्यबाहक अध्यक्षसमेत रहेका कर्माचार्य मजदुरका नाममा जे गर्न पनि पाउनुपर्छ भनेर गाडी बन्द गरेको बताए । महानगरीय वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले गाडी चलाउन सम्बन्धित सबै पक्षबीच वार्ताका लागि प्रयास भइरहेको बताए ।


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.