मैले सम्झौता नगरेको भए पार्टी सकिन्थ्यो : प्रचण्ड
Advertisement
वस्तुगत परिस्थितिको सही मूल्यांकन गर्न नसकेका कारण पेरु, टर्की, भारत, श्रीलंका, बर्मालगायतका मुलुकमा भएका क्रान्ति र विद्रोह असफल भएको उदाहरण पेस गर्दै दाहालले भने, 'हामीले १० वर्ष लडेपछि कार्यनीतिक बाटो नबदलेको भए अर्को १५-२० हजार मर्ने बेलासम्म क्रान्ति टिकाउन सक्थ्यौं। तर झन् ठूलो क्षति हुन्थ्यो। त्यही भएर क्रान्तिलाई सन्तुलित बाटोमा मोडेका हौं।' आफूले गल्तीबाट पाठ सिकेको पनि उनले बताए। दाहालले आफूप्रति विश्वास नभए नेतृत्व गर्ने साहस गरेर आउन चुनौती दिँदै त्यसरी आउनेलाई सलाम ठोक्ने बताए। 'क्रान्तिका लागि इमानदारीपूर्वक त्याग गर्न तयार छु भनेपछि पनि जनतामा भ्रम छ। मैले छोडेर विगतमा भएका कमजोरीको क्षतिपूर्ति हुन्छ भने मलाई नेतृत्वमा बसिराख्ने रुचि छैन। कि त विश्वास गर्नुस्, मेरो विश्वास छैन भने छोड्न तयार छु', बेपत्ता योद्धाको भूमिका, योगदान र वर्तमानमा हाम्रो कार्यभार' विषयक विचार गोष्ठीमा दाहालले भने।
उनले जसले ठेस लाग्दालाग्दै पनि धुलो टक्कटक्याएर हिँडने साहस गर्छ त्यो नै बुद्धिमानी हुने दाबी गरे। माओवादी आन्दोलन र एमालेभित्रका इमानदारलाई एउटै पार्टीमा संगठित गर्ने अभियानमा जानुपर्ने बताउँदै दाहालले कम्युनिस्टलाई एक ढिक्का गराएर मात्रै विगतका कमजोरी सच्याउन सकिने बताए। 'निराशा बाँडेर क्रान्ति हुँदैन', उनले भने, 'प्रचण्ड, मोहन वैद्य, मात्रिका यादव, मणि थापाहरू बिग्रन सक्छन् तर सहिद र बेपत्ता योद्धाहरुको त्याग खेर जाँदैन।' नेकपा (माओवादी) का संयोजक मात्रिका यादवले दाहाललाई जनयुद्धकालको जस्तै चिकित्सक बन्न सुझाउ दिए। 'जुनसुकै मोर्चालाई उपयोग गर्नुपर्छ तर मुख्य चाँहि सडकको मोर्चालाई बनाउनुपर्छ', यादवले भने, 'हामी माओवादी मिल्नुपर्छ तर थाङनामा सुत्नु हुँदैन। कसैको अन्धभक्त बन्नु हँुदैन।'
नेकपा-माओवादीका पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले पनि नीति र कार्यक्रमका आधारमा पार्टी एकता गर्नुपर्ने बताए। उनले भने, 'कार्यगत एकता गर्न प्रारम्भिक छलफल सुरु भएको छ। इमानदारीपूर्वक बहस गरौं, साम्राज्यवाद, विस्तारवाद र नोकरशाही पुँजीवादलाई मुख्य दुश्मन बनाऔं, साझा सवालमा कार्यगत एकता गरौं।' क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले विगतका गल्तीकमजोरी आत्मसात् गर्दै महान बहसका माध्यमबाट सिर्जनात्मक एकताको दिशामा अगाडि बढ्नुको विक ल्प नरहेको बताए । स्रोत # अन्नपुर्ण पोस्ट

Advertisement