लागुपदार्थसम्बन्धी सबैभन्दा ठूलो रक्तपात :सेना र लागूपदार्थ व्यापारीबीच ३ घण्टासम्म गोली हानाहान, ४२ को मृत्यु
Advertisement

९ जेठ, मेक्सिको ।
मेक्सिकोको हिंसाग्रस्त पश्चिमी क्षेत्रमा सुरक्षा सेना तथा लागू पदार्थको गैरकानुनी रूपमा व्यापार गर्ने समूहबीच तीन घण्टासम्म गोली प्रहार हुँदा कम्तीमा ४२ व्यक्तिको मृत्यु भएको छ भने यसलाई यस क्षेत्रमा लागुपदार्थसम्बन्धी सबैभन्दा रक्तपातपूर्ण सङ्घर्षको रूपमा लिइएको छ ।

सशस्त्र अपराधीहरूले मिचोआकान राज्यको तान्हुआतोमा अवस्थित पशुफार्म नियन्त्रण लिएको सूचना प्राप्त भएपछि अधिकारीहरूले उक्त आक्रमण गरेको र आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको जानकारी उनीहरूले दिए ।
राष्ट्रिय सुरक्षा आयुक्त मोन्टे अलेजान्द्रो रुबिदोले ४२ अपराधीको शव फेला परेको र तीनलाई हिरासतमा लिइएको जानकारी दिनुभयो ।
रुबिदोले यो प्रारम्भिक सङ्ख्या भएको र अनुसन्धानकर्ताहरूले उक्त क्षेत्रमा थप अनुसन्धान गर्दा यसमा वृद्धि हुनसक्ने बताउनुभयो ।
उहाँले यस अपराधिक समूहको नाम दिनुभएन तर यो समूह जालिस्को क्षेत्रका भएको बताउनुभयो । उक्त क्षेत्रमा न्यु जनेरेसन नाम गरेको शक्तिशाली सशस्त्र समूहको उपस्थिति रहेको छ र यस समूहलाई राष्ट्रपति एन्रिके पेना निएतोको प्रशासनले आक्रमणको लक्ष्य बनाएको छ ।
यो समूहले आफ्नो सम्पर्क एसियाका अन्य भागसम्म विस्तार गरेको छ र यसले अमेरिकासम्म लागु पदार्थको व्यापार गर्छ । यस समूहले मार्च तथा अप्रिल महिनामा दुई पटक आक्रमण गरी करिब २० प्रहरी अधिकारीको हत्या गरेको थियो ।
गत मे १ मा सरकारले यस समूहविरुद्ध अपरेसन जालिस्को सञ्चालन गरेको थियो । सोही दिन यस समूहले सात सैनिक तथा एक महिला प्रहरीको हत्या गरेको थियो भने रकेट बम प्रहार गरी एक सैनिक हेलिकप्टर झारिदिएको थियो ।
शुक्रबार गाडीमा रहेका बन्दुकधारीहरूले सुरक्षा सेनामाथि गोली चलाई उक्त पशुफार्ममा भागेपछि यो सङ्घर्ष आरम्भ भएको थियो ।
यस सङ्घर्षमा जमिनका सुरक्षाकर्मीलाई सुरक्षा दिन प्रहरी हेलिकप्टर परिचालन भएको थियो ।
यस पशुफार्म ११२ हेक्टरमा फैलिएको र त्यसमा घर तथा भण्डार पनि परेकाले यो समूहमाथिको कारवाही जटिल भएको बताइएको छ ।
यस सङ्घर्षमा भण्डारघर तथा छ गाडी जलेको बताइएको छ ।
गत वर्ष सेनाले गरेको एक आक्रमणमा २२ व्यक्तिको मृत्यु भएपछि सेनाले उक्त आक्रमण रोकेको थियो । पछि तीन सैनिकलाई यस विषयमा कारवाही भएको थियो ।
रुबिदोले शुक्रबारको सङ्घर्षपछि राष्ट्रिय मानव अधिकार कार्यालयका अधिकारीहरूले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।
अधिकारीहरूले आक्रमणपछि ३६ बन्दुक, एक रकेट प्रक्षेपक तथा गोलाबारुद फेला पारेका छन् ।
शुक्रबारको सङ्घर्षपछि एल सोल पशुफार्मलाई करिब ५०० सैनिक तथा प्रहरीले निगरानीमा राखेको बताइएको छ ।
गत नौ वर्षमा मेक्सिकोमा लागुपदार्थसम्बन्धी सङ्घर्षमा ८० हजार व्यक्तिको ज्यान गएको छ भने अन्य २२ हजार हराएका छन् ।
राष्ट्रपति पेना निएतोले सन् २०१२ मा पदभार सम्हालेपछि पश्चिमी क्षेत्रमा कडा सुरक्षा चुनौती भोग्नुभएको छ ।
सन् २०१३ मा ला बार्काको जलिस्को नगरमा एक आमचिहानबाट ६४ शव निकालिएको थियो र तन्हुआतो त्यसको नजिकै पर्छ ।
अप्रिल महिनामा न्यु जेनरेसनलले जालिस्को राजमार्गमा १५ प्रहरीको हत्या गरेका थिए । एक महिना अगाडि उनीहरूले पाँच प्रहरीको हत्या गरेका थिए । रासस

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.