.मलेसियामा बिदेशी कामदारहरु मारेर गाड्ने १३९ चिहान फेला
Advertisement

मानव बेचबिखनमा संलग्न अपराधीहरूले जङ्गलमा प्रयोग गरि परित्याग गरेका शिविरहरूमा १३९ चिहानका साथै आप्रवासीलाई राख्न तारको खोर फेला परेको मलेसियाली अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।



मलेसियाका राष्ट्रिय प्रहरी प्रमुख खलिद अबु बाकरले खाली गरिएका शिविरमा फेला परेका २८ चिहान खन्ने काम अदालती विशेषज्ञहरूले गरिरहेको बताउनुभयो ।

उहाँले थाइल्यान्डको सीमामा रहेको बनमा उक्त शिविर फेला परेको र त्यसलाई मानव बेचबिखन गर्ने व्यक्तिहरूले सञ्चालन गरिरहेको देखिएको बताउनुभयो ।

उक्त शिविरबाट निकै किलोमिटर पर वाङ केलियानमा पत्रकारहरूलाई यो निकै नराम्रो घटनास्थल भएको बताउनुभयो । उहाँले एक शिविरमा करिब ३०० व्यक्ति राख्नसकिने अवस्था देखिएको बताउनुभयो । उहाँले आफूले यस प्रकारको बरबरपना यसअघि कहिल्यै नदेखेको बताउनुभयो ।

जङ्गलको एक शिविरमा प्रहरीले एक काठको खोरमा मानव शरीरका कुहिएका निकै भाग फेला पारेको छ । ती भागलाई सेता बोरामा राखी वाङ केलियान ल्याइएको छ । उक्त वनमा रहेको चिहान खन्ने काम मङ्गलबार आरम्भ हुने बताइएको छ ।

उहाँले आफूहरूले १३० चिहान फेला पारेको बताउनुभयो । उहाँले यहाँ मानव बेचबिखनबाट पीडित व्यक्तिको शव रहेको विश्वास गरिएको बताउनुभयो ।

टोकियोमा औपचारिक भ्रमणमा आउनुभएका मलेसियाली प्रधानमन्त्री नजिब रजाकले अपराधी पत्ता लगाउने दृढता व्यक्त गर्नुभयो । उहाँले गैरकानुनी रूपमा मानव ओसारपसार गरिएका चिहान मलेसियामा फेला पार्दा आफू निकै चिन्तित भएको बताउनुभयो । उहाँले यस कार्यका जिम्मेवार व्यक्ति पत्ता लगाइने बताउनुभयो ।

यसै महिनाको आरम्भमा थाइल्यान्डका प्रहरीले पनि थाइल्यान्डमा यस्तै प्रकारको दर्जनौँ शवयुक्त चिहान फेला पारेका थिए । सात शिविरमा ३६ शव फेला पारिएको थाइल्यान्ड प्रहरीका मेजर जनरल पुथिचार्ट एकाचानले बताउनुभयो ।

यसले मानव बेचबिखन गर्ने समूहले सञ्चालन गरेको र लुकेको सञ्जाललाई उजागर गरेको छ । यस्ता समूहले हजारौँ व्यक्तिलाई बन्धक बनाइ उनीहरूको परिवारबाट रकम लिने गरेको देखिएको छ । यसरी पीडित भएकोमा म्यानमारमा अत्याचारबाट पीडित रोहिङ्ग्या मुसलमान समूह वा बङ्गलादेशका गरिब आप्रवासी परेका छन् । यी व्यक्तिहरू काम प्राप्त गर्न र स्वतन्त्र रूपमा बाँच्न मलेसिया जस्ता मुलुक जान चाहन्थे ।

अन्तर्राष्ट्रिय दबाब बढ्दा तथा आमसञ्चारले समाचार दिएपछि दक्षिणपूर्वी एसियाली सरकारहरूले यस्ता अपराधीमाथि कारवाही गर्न थालेका छन् र अपराधीहरूले पनि हाल जमिन, तथा समुद्रमा ढुङ्गामा रहेका यस्ता शिविर परित्याग गर्न थालेका छन् ।

खालिदले यस्ता शिविरमा फेला परेका खाद्य सामग्रीका आधारमा ती शिविर गत दुई हप्तादेखि छोडिएको अनुमान गरिएको बताउनुभयो । त्यहाँ बालबालिकाका चप्पल तथा ‘टेडी बियर’ खेलौना पनि फेला परेकाले यस्ता शिविरमा बालबालिका पनि रहेको अनुमान गरिएको छ ।

मे १० देखि बङ्गलादेश तथा म्यानमारको रोहिङ्ग्या समूहका करिब तीन हजार ६०० व्यक्तिलाई इन्डोनेसिया, मलेसिया तथा थाइल्यान्डमा फेला पारिएको छ । हजारौँ व्यक्तिलाई समुद्रमा ढुङ्गामा छोडिएको पनि आशङ्का गरिएको छ ।

मलेसिया तथा इन्डोनेसियाले गत साता यस्ता आप्रवासीलाई एक वर्षका लागि अस्थायी आवास दिने घोषणा गरेका छन् । अमेरिकाले यीमध्ये केहीलाई आफ्नो भूमिमा स्थायी रूपमा बसोबास गर्न दिने बचन दिएको छ ।

म्यानमारमा रोहिङ्ग्या समूहको जनसङ्ख्या एक लाख ३० हजार रहेको छ र उनीहरूलाई विश्वमा सबैभन्दा यातना दिइएको समूदायको रूपमा लिइएको छ । उनीहरूको आधारभूत मानवाधिकार अस्वीकार गरिएको छ भने म्यानमारको राखिने राज्यमा सन् २०१२ देखि उनीहरूलाई आफ्नो घरबाट अनेकौँपटक खेदिएको छ ।


यस आक्रमणबाट एक लाख ४० हजार व्यक्ति विस्थापित भएका छन् र उनीहरू हाल भीडयुक्त शिविरमा रङ्गभेद नीतिको अवस्थामा जस्तै बाँच्न बाध्य भएका छन् । एक लाखभन्दा बढी हाल समुद्रबाट अन्यत्र भागेको देखिएको छ ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.