रगत अभाव हुँदा शल्यक्रिया रोकियो
Advertisement

धरान : दाताले रक्तदान नगरेकाले पूर्वी नेपालमा रगतको चरम अभाव भएको छ। रगत अभाव भएपछि सुनसरी, मोरङ र झापा जिल्लाका अस्पतालमा उपचारका लागि आउने सयौं बिरामीको शल्यक्रियासमेत रोकिएको छ।


हप्ता दिनदेखि रगतको चरम अभाव भएपछि पूर्वाञ्चलकै सबैभन्दा ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने बिरामी शल्यक्रिया गराउन समस्यामा परेका छन्।

विनाशकारी भूकम्पका कारण दाताले रक्त दान गर्न छाडेपछि रेडक्रस सुनसरीले बीपी प्रतिष्ठान हाताभित्र सञ्चालन गरेको रक्त सञ्चार केन्द्रमा अहिले ए पोजेटिभ समूहको रगतबाहेक सबै समूहका रगत सकिएको छ।

रक्त सञ्चार केन्द्र धरानका प्रमुख सुवाचन्द्र सिंहले रगत अभावका कारण धरान, विराटनगर र झापाका अस्पतालमा उपचार गराइरहेका बिरामीलाई समस्या भएको बताए। उनका अनुसार धरान, विराटनगर, भद्रपुर, दमक रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएको छ।

धरानमा ए नेगेटिभ, बी पोजेटिभ, बी नेगेटिभ, एबी पोजेटिभ, एबी नेगेटिभ, ओ पोजेटिभ र ओ नेगेटिभ ग्रुपका रगतको अभाव भएको रेडक्रस सुनसरीका मन्त्री मुकुल कायस्थले जानकारी दिए।

उनले रगतको चरम अभाव भएपछि पूर्वका विभिन्न संघसंस्थालाई रक्तदान गर्न अनुरोध गरिएको बताए।

रगत अभावकै कारण बीपी प्रतिष्ठानमा सुत्केरी गराउन आउने महिलाको शल्यक्रिया सेवासमेत प्रभावित भएको प्रतिष्ठानको प्रसूति वार्डका डा. रोहित रिजालले बताए।

उनले पनि विभिन्न संघसंस्था र व्यक्ति लाई रगत दान गरी बिरामीको उपचार सहज बनाइदिन अनुरोध गरेका छन्।

सबैभन्दा बढी प्रयोग हुँदै आएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विराटनगरमा रहेको रेडक्रस सोसाइटीले सञ्चालन गरेको ब्लड बैंकमा समेत रगतको चरम अभाव छ।

रगत अभावले विभिन्न अस्पताल भर्ना भएका बिरामीको उपचारमा गम्भीर समस्या उत्पन्न भएको छ। दैनिक ३० देखि ५० पिन्ट रगत वितरण गर्दै आएको धरान ब्लड बैंकमा समेत रगत सकिएपछि बिरामीलाई थप समस्या भएको छ।
source .annapurnapost

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.