१८ वर्ष पुरानो हत्याको बयान, फादरले करणी गरे पैसा दिएनन्
Advertisement
सेन्ट जेभियर्स स्कुलका संस्थापक फादर ग्याफ्नेको हत्या १८ वर्षसम्म नेपाल प्रहरीको असफल अनुसन्धानको सूचीमा रह्यो । महानगरीय अपराध महाशाखाले हत्याको रहस्य गत महिना मात्र बाहिर ल्यायो ।
हत्यापछि भारत भागेका खड्का पक्राउ परेपछि उनीविरुद्ध ३० वैशाखमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएको २० दिनपछि नै उनीविरुद्धको मुद्दाको फैसला भएको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले खड्कालाई मंगलबार जन्मकैद सजायको फैसला सुनाएको ललितपुर जिल्ला अदालतका प्रवक्ता कौशल ज्ञवालीले बताएका छन् ।
खड्काले आफूले हत्या गरेको भन्दै साबिती बयान दिएपछि छिट्टै फैसला भएको हो । अदालतमा उनले दिएको बयानको प्रमुख अंश यस्तो छ :
कैदी ढालबहादुर खड्का
कैदी ढालबहादुर खड्का
साथी मानबहादुर भण्डारीमार्फत मेरो फादर थोमस ई ग्याफ्नेसँग चिनजान भएको थियो । मानबहादुरले फादर ग्याफ्नेको कोठामा काम गर्न जाऊ, राम्रो खान–लाउन पाइन्छ र काम गरेको दिनमा एक हजार रुपैयाँसमेत दिनुहुन्छ भनेपछि म उनको विश्वासमा परी लौ हुन्छ नि त जाऊँ भनी यकिन मिति याद भएन, ०५४ सालतिर हो क्यारे, उनीसँगै बेलुकी ८ बजेतिर झम्सिखेलस्थित फादर ग्याफ्नेको डेराकोठामा गएँ ।
त्यहाँ गएपछि मानबहादुरले मलाई फादर थोमस ई ग्याफ्नेसँग परिचय गराई आफू किचनमा गई कफी बनाएर ल्याए । हामी तीनैजनाले कफी पियौँ । त्यसपछि मानबहादुर आफ्नो डेराकोठातर्फ जान्छु भनी निस्के भने म त्यहीँ बसेँ । त्यस राति कफी पिइसकेपछि फादरले मलाई नुहाउन पठाए । मैले नुहाइसकेपछि उनले पनि नुहाए । त्यसपछि आफू पूरै नांगै भई मलाई पनि पाइन्ट खोल्न लगाई करणी गरे । त्यसपछि उनले मलाई दुई घन्टासम्म मुखमैथुन गराएर मेरो मुखमा विर्य स्खलन गरे । राति हामी दुवैजना सँगै सुत्यौँ ।
बिहान ४ बज्नेबित्तिकै उनले मलाई उठाएर अब तिमी जाऊ, उज्यालो भएपछि अरू मान्छेले देख्छन् भने । मैले उनीसँग पैसाको कुरा गरेँ । उनले पख, पछि अर्कोपटक दिइहाल्छु, तिमीलाई म अर्को दिन लिन आउँछु भने । हुन्छ भनी म त्यहाँबाट हिँडे र डेरा गएर सुतेँ । दिउँसो उठेर आफ्नो दैनिक काममा लागेँ । त्यसपछिका दिनमा पनि फादर ग्याफ्नेले मलाई चार/पाँचपटक आफ्नो डेरामा लगेर कहिले मुखमैथुन गराउने त कहिले मलद्वारमा करणी गर्ने गरे । तर, उनले पैसा दिने चालै गरेनन् । त्यसले गर्दा मलाई रिस उठिरहेको थियो । पटक–पटक धोका दिएकाले उनलाई अब मार्छु नै भन्ने निर्णयमा पुगेँ र योजना बनाएँ । उनलाई मार्नका लागि असनको एउटा खुकुरी पसलबाट दुई सय रुपैयाँमा खुकुरी किनेर डेराकोठामा ल्याइराखेँ ।
०५४ साल मंसिर २८ गते बेलुका ५ बजेतिर फादर ग्याफ्ने मलाई लिन मेरो डेरामा आए । मैले अहिले मेरो काम छ, बेलुकी ७–८ बजेतिर आउँछु भनेर उनलाई फर्काइदिएँ । त्यस दिन पनि उनले पैसा दिएनन् भने जसरी भए पनि उनलाई मार्छु भन्ने योजना बनाएका कारण खुकुरी हान्दा मेरो कपडामा रगत लाग्न सक्छ भन्ने सोची तल दुईवटा पाइन्ट, माथि भित्र भेस्ट र बाहिर सर्ट लगाएर गएँ । खुकुरी भने गलबन्दीमा बाँधी कम्मरमा लुकाएर फादरको डेरामा गएँ । उनी आफ्नो बिस्तरामा ढल्किरहेका थिए । त्यसपछि उनले ल अब तिमी नुहाऊ भनेर मलाई बाथरुममा पठाए । म बाथरुममा गई नुहाएपछि कोठामा आएँ । त्यसपछि उनले तिमी बस म कफी बनाई ल्याउँछु भनेर किचनमा पसे । त्यही मौकामा मैले बोकी ल्याएको खुकुरी नजिकै रहेको टेबुलमुनि लुकाई राखेँ । उनले कफी बनाई ल्याए, हामी दुवैले कफी पियौँ । त्यसवेला रातको करिब साढे दश बजेको थियो होला, उनले ढोका लक गरे । अनि पहिला आफ्नो शरीरको सम्पूर्ण कपडा खोले र पछि मलाईसमेत तानी कपडा खोल भनी मेरो पाइन्ट खोल्न लगाए । त्यसपछि उनले पूर्ववत् मैथुन र करणी गर्न थाले । विर्य स्खलनपछि उनी शिथिल भई बिस्तरामा सुत्न गए । त्यतिवेला मैले फादर ग्याफ्नेलाई मलाई पैसाको सारै नै आवश्यकता परेको छ, खानका लागि रासनसमेत छैन, मलाई हजार– बाह्र सयजति पैसा दिनुस् न सर भनी अनुरोध गरेँ । तर, उनले लाजै पचाएर आज पैसा छैन भनेर सिरक ओडेर सुते ।
मैले कपडा लगाएँ । मलाई ज्यादै रिस उठेको थियो । उनी निदाएपछि राति करिब साढे ११ बजेतिर मैले टेबुलमुनिबाट खुकुरी निकालेँ र एक सट घाँटीमा प्रहार गरेँ । उनी छटपटाउन थालेपछि पुन: दोस्रो सट पनि घाँटीमा नै प्रहार गरेँ । त्यसपछि तेस्रोपटक घाँटी रेटेँ । त्यसपछि उनी छटपटाउन छाडे । अब त मर्यो होला भन्ने सोची खुकुरी दापमा हालेर त्यहीँ राखेँ ।
मेरो जिउ र कपडामा समेत रगत लागेको हुँदा बाथरुममा गई हातखुट्टा पखालेँ । रगत लागेको बाहिरको पाइन्ट र सर्ट फुकाली सोही कोठामा रहेको प्लास्टिकको झोलामा राखेँ । उनीसँग अघिपछि बस्ने क्रममा उनले दराजबाट चुरोट निकाल्दा मैले उनले पैसा राख्ने गरेको ठाउँ देखेको थिएँ । त्यसकारण सो दराजमा पक्कै पनि पैसा होला भन्ने सोची मैले दराज खोलेँ ।
दराजमा एक हजारका पाँचवटा, पाँच सय दरका ३४ वटा गरी जम्मा २२ हजार रुपैयाँ फेला पारेँ । त्यसपछि मैले मेरो रगत लागेको कपडा भएको प्लास्टिक र सो रकमसमेत लिई कोठा लक गरेर राति १२ बजेतिर कालोपुल गएँ । रगत लागेको पाइन्ट र सर्ट कालोपुलमुनि बागमती खोलामा फालेँ र हिँड्दै कालिमाटी पुगेँ । त्यहीँ सडकपेटीमा रात बिताएँ । बिहान ६ बजे दक्षिणकाली जाने बसमा चढेँ । दक्षिणकाली मन्दिर दर्शन गरेँ । केही बेर यताउति घुमेर समय बिताएँ ।
त्यसपछि दिउँसो १ बजेतिर पुन: दक्षिणकालीबाट बल्खु आउने बसमा चढेँ । बल्खुमा झरेँ । त्यहाँबाट पैदल हिँड्दै टेकु हँुदै भोटेबहाल डेराकोठातर्फ आउने क्रममा नाम्लो बोक्ने मान्छेहरूले विदेशी मान्छेलाई त्यही बस्न जाने मान्छेले मारेको रहेछ भनी आफूआफूमा कुरा गरिरहेको सुनेँ । त्यसपछि अब मलाई प्रहरीले पक्राउ गर्न सक्छ, यहाँ बस्नु उचित छैन भनी सो कोठामा नपुगी टेकुबाट कलंकी गएँ । नेपालमा बसेँ भने मलाई प्रहरीले पक्राउ गर्छ, अब भारततिर जानुपर्यो भन्ने सोची सोही दिन बेलुकी ५ बजे कलंकीबाट इटहरी जाने बसमा चढेँ । भोलिपल्ट ३० गते बिहान ४ बजे इटहरी पुगेँ ।
त्यहाँबाट काँकडभिट्टा अनि भारतको सिलिगुडी हुँदै आलेपुर गई एक दिन होटेलमा बसेँ । त्यहाँबाट सिक्किम गई एकजना साहुको घरमा घरायसी काम तथा भारी बोक्ने मजदुरी गरी १८ वर्ष बिताएँ । त्यसै क्रममा मलाई घरपरिवारको धेरै नै याद आएकाले एकपटक घरपरिवारसँग भेटघाट गरौँ भन्ने सोचेँ । त्यसपछि म नेपाल छिरेँ । ०७२ साल वैशाख ७ गते काँकडभिट्टा हुँदै आउने क्रममा मलाई प्रहरीले काँकडभिट्टामा पक्राउ गर्यो ।source:nayapatrica

Advertisement


