.हुवेमा यसरी चढाइएको थियो घाइते दुर्घटनामा परेकाका आफन्तले मागे क्षतिपूर्ति (हेर्नुस भिडियोसहित)
Advertisement
काठमाडौं, जेष्ठ २४ - दुर्घटनाग्रस्त अमेरिकी यूएच एनवाई हुवे हेलिकप्टरमा परी मृत्यु भएका पाँच दोलखालीका परिवारले उचित क्षतिपूर्तिका लागि आइतबार नेपाली सेना र अमेरिकी दूतावासको ध्यानाकर्षण गराएका छन् ।
उपचार गर्न हेलिकप्टर चढाइएका आफन्तको खोजी गर्नुको साटो दुर्घटनामा परेको जानकारी नै लुकाएर राखेको भन्दै उनीहरूले गुनासोसमेत पोखेका थिए ।
‘हामीले सास त भेटेनौं । लास थाहा पाउन पनि एक महिना कुर्नुपर्यो । धेरै सास्ती पाइयो,’ मृतक ध्रुव कटवालका पिता भोगेन्द्र कटवालले सेना र दूतावासका अधिकारीसामु दु:ख पोखे । शव बुझ्ने र क्षतिपूर्ति प्रक्रियाका लागि मृतकका आफन्तलाई आइतबार सैनिक मुख्यालय बोलाइएको थियो ।
नेपाली सेनाका तर्फबाट प्रवक्ता जगदीशचन्द्र पोखरेलले आफन्तलाई भेटेका थिए । कार्यवाहक अमेरिकी राजदूत र सैन्य सहचारीसमेत सहभागी भएको भेटमा आफन्तहरूले उचित क्षतिपूर्तिको व्यवस्था नभए शव नबुझ्ने जानकारीसमेत गराएका थिए ।
वैशाख २९ को भूकम्पबाट घाइते ५ जनालाई लिई उडेको हुवे हेलिकप्टर सोही दिन दुर्घटनामा परेको थियो । तर जेठ १ गते सिन्धुपाल्चोकको घोर्थली गाविसमा उक्त हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । नेपाली सेनाका हेलिकप्टर चालक महासेनानीद्वय रवीन्द्र बस्नेत र सञ्जीव घिमिरेको बेग्लाबेग्लै टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर फेला पारेको थियो । तर त्यतिबेला त्यहाँ ६ अमेरिकी र २ नेपाली सेना रहेको जानकारी दिइएको थियो ।
सोही हेलिकप्टरमा थप ५ जना घाइते पनि परेको भन्दै कान्तिपुरले सार्वजनिक गरेको थियो । त्यसपछि नेपाली सेनाले दुर्घटनास्थलमा हेलिकप्टरमार्फत पुन: शव खोजी गरी टुक्रा संकलन गरी डीएनएका लागि अमेरिका पठाएको थियो । डीएनएमार्फत ती बिरामी दुर्घटनाग्रस्त हेलिकप्टरमा परेको शुक्रबार सेनाले पुष्टि गरेको हो ।
मृत्यु हुनेमा लादुक–७ का ध्रुव कटवाल, लोकबहादुर कटवाल, शिव खत्री, यमबहादुर खत्री र लामिडाँडा गाविसकी सावित्री सिवाकोटी छन् । उक्त हेलिकप्टरमा घाइते चढाएको भिडियो हुँदा पनि सेनाले बेवास्ता गरेको र प्रहरीमार्फत भिडियो खोसेको गुनासोसमेत आफन्तले गरे ।
मृतकका आफन्तहरू भोगेन्द्रबहादुर कटवाल, रामशरण खत्री, अमिर कटवाल, वासुदेव खत्रीले सैन्य अधिकृत र दूतावासका अधिकारीसमक्ष गुनासो पोखेका हुन् । उचित क्षतिपूर्तिको टुंगो नलगाई शव नबुझ्ने जानकारी मृतक लोकबहादुरका छोरा अमिरले कान्तिपुरलाई बताए ।
दोलखाका सभासदहरू पशुपति चौलागाईं, आनन्द पोखरेल, पार्वत गुरुङ, पूर्वजिविस सभापति लालकुमार केसी त्यसक्रममा पुगेका थिए । क्षतिपूर्तिका लागि गृह मन्त्रालयमार्फत प्रक्रिया बढाइने जानकारी दिइएको त्यसमा आफन्त नमानेको जानकारी केसीले दिए ।
‘पीडितलाई उचित क्षतिपूर्तिको प्रत्याभूत नभई शव नबुझ्ने हामीले भनेका छौं,’ केसीले बताए । सभासद चौलागाईंले सोमबार पुन: यसबारे छलफल हुने र त्यसमा आफूहरूले पीडित पक्षको सुनुवाइ गर्न आग्रह गर्ने बताए ।
Advertisement