श्रीमतीको हत्यापछि छोरी जंगलमै
Advertisement
मन्थली, श्रावण २६ - सेनाका एक सिपाहीले श्रीमतीको बीभत्स हत्या गरी १४ महिनाकी बालिकालाई जंगलमा फालेको रहस्य खुलेको छ । रामेछाप मन्थली १ को जंगलमा महिलाको शव र नजिकै एक बालिका जीवितै भेटिएको थियो । प्रहरीले अनुसन्धानका क्रममा उक्त शव रामेछाप नगरपालिका ४ डुम्रीखर्ककी इन्द्रा विश्वकर्मा (क्षेत्री) को भएको र निजको हत्यामा पति रमेशकुमार विश्वकर्मा संलग्न रहेको जनाएको छ । अनुसन्धानका लागि शनिबार साँझ आफ्नै घरबाट पक्राउ परेका रमेशले प्रहरीसमक्ष अपराध स्विकारेका छन् ।
सुकाजोर खोला पुगेका गोठालाले जंगलमा बच्चा रोएको सुनेपछि खोज्दै जाँदा शव भेटिएको हो । त्यसपछि गोठालाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बालिका भेटिएको ठाउँभन्दा केही मिटरमाथि महिलाको शव फेला पारेको थियो । बालिका मृतककी छोरी हुन् ।
सलले घाँटी बेरेको र मुख तथा शरीरका विभिन्न भागमा ढुंगाले हानेको चोट छ । बालिकालाई उपचारका लागि तामाकोसी सहकारी अस्पतालमा राखिएको छ । अस्पतालका चिकित्सक केशवसिं धामीले बालिकाको आँखामा संक्रमण र निमोनिया भेटिएको छ ।
मृतक महिला केही दिनअघि मात्र रामेछाप आएको खुलासा भएको छ । उनले कुराकानीका क्रममा श्रीमान्सँग सम्बन्ध बिग्रिएको गुनासो गर्ने गरेको स्थानीय बताउँछन् । सेनामा कार्यरत रमेशले घर नल्याएको र पैसासमेत दिने नगरेको भन्दै इन्द्रा होटलमा बसेकी थिइन् । मृतकको माइती सुर्खेत छिन्चु १ रहेको नागरिकताबाट खुलेको छ ।

Advertisement