युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन !!
Advertisement
बेइजिङ– विश्वमा प्रमुख आर्थिक शक्तिका रुपमा उदाउँदो चीनले आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रिय कारोबारको माध्यम बनाउने प्रयास गर्दैछ।आगामी साता आफ्नो भ्रमणका क्रममा चीनका प्रधानमन्त्री ली केकियाङले लन्डनलाई चिनियाँ मुद्रा कारोबारस्थल बनाउन बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँग छलफल गर्ने भएका छन्।
आगामी मंगलबार लीले बेलायती प्रधानमन्त्रीसँग लन्डनलाई चिनियाँ मुद्रा र धितोपत्र कारोबारस्थलका रुपमा विकास गर्ने आफ्नो वार्ताको विषयसूचीमा राखेको चिनियाँ वाणिज्य उपमन्त्री गाओ यानले बिहीबार जानकारी दिइन्।
चिनियाँ प्रधानमन्त्री लीले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँग आधारभूत सुविधा निर्माण, तीव्र गतिको रेल निर्माणमा चीनको लगानी, आणविक तथा आर्थिक मामिलामा छलफल गर्ने पनि गाओले बताइन्।गाओका अनुसार लीले चिनियाँ मुद्रा युआनको कारोबार स्थलका रुपमा लन्डनले भूमिका खेल्न सक्नेबारे समेत क्यामरुनसँग वार्ता गर्ने छन्। लीले मंगलबार क्यामरुनको कार्यालयमा भेटघाट गर्नेछन्। गएको वर्ष बेलायती प्रधानमन्त्री क्यामरुनले आफ्नो चीन भ्रमणताका लीलाई भ्रमणको निम्तो दिएका थिए। त्यसपछि उनी ग्रीस भ्रमणमा जानेछन्।
गत वर्ष चीन भ्रमणका बेला बेलायती अर्थमन्त्री जर्ज ओस्बर्नले बेलायतमा चिनियाँ प्रत्यक्ष लगानीको ढोका खोलेका थिए। त्यसबेला उनले बेलायतमा चिनियाँ बैंक सञ्चालनका लागि नियम कानुन खुकुलो पार्ने भन्दै लगानीको आग्रह गरेका थिए। यसबाट बेलायती राजधानी लन्डन चीनको मुद्रा युआन र चिनियाँ धितोपत्रको अन्तर्राष्ट्रिय कारोबारस्थलका रुपमा विकास हुने सम्भावना चीनले पहिल्याएको छ। अर्थमन्त्री ओस्बर्नले बेलायतमा स्थापना हुने आणविक भट्टीमा लगानी गर्ने चिनियाँ व्यवसायीलाई त्यसको बढी सेयर दिने बाटो पनि खोलिदिइसकेका छन्।
लीको बेलायत भ्रमणबारे जानकारी दिँदै गाओले दुवै देशबीच धेरै सम्झौतामा हस्ताक्षर हुने पनि संकेत गरिन्। उनले लन्डन विश्व बजारको महत्वपूर्ण कारोबारस्थल बन्नेतर्फ उन्मुख भएकोले बेलायत–चीन दुवैले यसबारे अनुसन्धान समेत गरिसकेको खुलासा गरिन्। बेलायत भ्रमणमा विभिन्न आर्थिक सहयोगका साथै लन्डनलाई युआन कारोबार स्थल बनाउनेतर्फ दुवै देशबीच सहमति हुनेमा प्रधानमन्त्री ली विश्वस्त रहेको उनले बताइन्। उनले आर्थिक केन्द्रका रुपमा रहेको लन्डनलाई चीनले आफ्नो आर्थिक कारोबारस्थलका रुपमा विकास गर्न चाहेको जानकारी दिइन्।
उपमन्त्री गाओले लीको भ्रमणमा दुवै देशबीच ऊर्जा, पूर्वाधार र तीव्र गतिको रेल निर्माणबारे पनि सम्झौता हुनसक्ने जानकारी दिइन्। उनले विदेशी लगानी खुला गर्ने बेलायती नीति युरोपका बाँकी राष्ट्रका लागि नमूना हुने बताइन्। उनले बेलायतको कानुन प्रणाली सशक्त र कानुनी वातावरण पारदर्शी भएको भन्दै चिनियाँ कम्पनीका लागि लगानीमैत्री वातावरण भएको टिप्पणी गरिन्।
बेलायत–चीन दुवैले युरोपेली संघसँग हुने चीनको अर्बौं रकमको कारोबार डलरमा नगर्नेतर्फ जोड दिनुपर्ने भन्दै उनले युआनलाई लेनदेनको माध्यम बनाउनु पर्ने अप्रत्यक्ष संकेत गरिन्। गएको डिसेम्बरमा बेइजिङ आएका क्यामरुनले यसबारे सहयोग गर्ने आश्वासन चीनलाई दिएका थिए। तर युरोपेली संघले भने चीनको प्रस्ताव अस्विकार गरेको थियो।
ग्रीस भ्रमणमा पनि लीले पूर्वाधार र ऊर्जासम्बन्धी सम्झौता गर्ने गाओले जनाइन्। निजीकरणमा सघाउन चीनले चिनियाँ कम्पनीलाई ग्रीसमा सहभागी हुन उत्प्रेरित गर्नेछ। तर गाओले लीको बेलायत र ग्रीस भ्रमणमा हुने सम्झौताका विस्तृत विवरण दिन भने मानिनन्।
फाइनान्सियल टाइम्सले यसै साता लन्डनमा चिनियाँ मुद्रा 'रेनमिन्बी'को कारोबारका लागि चीनको दोस्रो ठूलो बैंक चाइना कन्स्ट्रक्सन बैंक छनोट भएको समाचार छापेको थियो। चीनको मुद्राको खास नाम 'रेनमिन्बी' अर्थात् 'जनताको मुद्रा' हो। चिनियाँ मुद्राका रुपमा चिनिए पनि युआन भने रेनमिन्बीको सानो एकाइ हो।
आफ्नो मुद्रालाई अमेरिकी डलरजस्तै सटही मुद्रा बनाउने आफ्नो सबैभन्दा महत्वाकांक्षी योजनामा चीन लागिपरेको छ। सन् २००९ मा चीनको कुल व्यापारको एक प्रतिशत युआनमा भएकोमा अहिले २० प्रतिशत व्यापार युआनमै हुने गरेको छ। आफ्नो मुद्रालाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन अन्तर्राष्ट्रिय व्यापार, लगानी र विदेशी मुद्रा संचितिमा युआनको उपयोग गर्ने गराउनेतर्फ अग्रसर छ। चीन अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलरको प्रतिस्थापन वा विकल्पका रुपमा आफ्नो मुद्रालाई उभ्याउन चाहन्छ।
स्रोत # नागरिक न्युज
Advertisement