१५ बर्ष चिया बेचेर करोडपति बनेका डेलबहादुर ‘रोडपति’ बनेपछि…
Advertisement

जेठ ४ गते
- विश्वास खड्काथोकी
गत वैशाख १२ गतेको भूकम्पले हजारौं नेपालीलाई जस्तै उनलाई पनि उठिबास लगायो । अब घरको ऋण कसरी तिर्ने ? परिवार कसरी पाल्ने ? उनी निरोत्तरित छन् । सरकारको त के आश, एउटा त्रिपाल समेत पाउन सकेका छैनन् ।

काठमाडौँ, ४ जेठ । उनले दिनभर नयाँ बसपार्कमा चिया बेच्छन् । चिया चाँहि पिउँदैनन् ।  खाना पनि दिनमा मुस्किलले एकछाक खान्छन् । बरु छिन–छिन्मा रेष्टुरेण्ट पुग्छन् र एक गिलास लगाई हाल्छन् । उनले नशामै चिया पकाउँछन्, चिया बेच्छन्, अनि नशामै सुत्छन् ।
दिन मात्र होइन्, उनको रात पनि बसपार्ककै खुला आकाशमा बित्छ । पालसम्म छैन्, ओत लाग्नका लागि । खाना त परिवारलाई जसोतसो जुटाइरहेकै छन् ।
नुवाकोटका डेलबहादुर खड्का काठमाडौँ छिरेको १५ बर्ष भयो । उनी काठमाडौं प्रवेश गरेको जति बर्ष भयो, चिया बेच्न थालेको पनि त्यतिनै समय बित्यो । त्यही चियाको भरमा पाँच जना परिवार पालिएका छन् । फाइनान्सबाट ९ लाख ऋण लिएर गोँगबुमा दुई तले घर ठड्याए । अझै तीन लाख ऋण तिर्न बाँकी नै छ । घर बनाउनकै लागि गाउँको झिटीझाम्टो पनि बेचे । तर, सपनाको त्यो घर अहिले उनको लागि मुर्दाघर जस्तै बनेको छ । गत वैशाख १२ गतेको भूकम्पले हजारौं नेपालीलाई जस्तै उनलाई पनि उठिबास लगायो । अब घरको ऋण कसरी तिर्ने ? परिवार कसरी पाल्ने ? उनी निरोत्तरित छन् । सरकारको त के आश, एउटा त्रिपाल समेत पाउन सकेका छैनन् ।
उनी बैशाख १२ गते पछि घर छिरेका छैनन् । उनको घर भासिएको छ । उनलाई आफ्नो घर हेर्न पनि मन छैन । नेपाली इन्जिनियरको टोलीले त उनलाई घरमा बस्न अनुमति दिएको थियो । तर विदेशी टोली आएर निस्किहाल्न भन्यो । अनि उनी घरमा बसुन् पनि कसरी ? बेलबहादुर घरको सामान समेत निकाल्न सकेका छैनन् ।
उनलाई भूकम्पको ह्याङओभरले अझै छोडेको छैन । घर नजिक पुग्दा, घर नै फनफनी घुमेजस्तो लाग्छ । टेबुलमा बस्दा संसारै हल्लिए जस्तो, सुत्दा ओछ्याननै हिँडेजस्तो । भन्छन्, ‘निदाउनका लागि मदिराको सहारा लिनुपरेको छ ।’ भूकम्पपछि रक्सीको साहरामा पीडा भुलाउने प्रयास गर्दैछन् बेलबहादुर । बौल्दै जान्छन्, ‘मेरो त दिमाग नै अर्कै भैसक्यो, अब कसरी बाँच्ने केही थाहा छैन । चिया बेचेर परिवारलाई भातसम्म खुवाएको छु ।’ उनले आफ्नो छोराछोरीलाई पनि बुधबारनै ससुराली पठाइसके । उनी रोकिदैनन्, ‘अहिलेसम्म सकेको गरे, नसक्ने भए पछि पठाइदिए ।’
सरकारबाट कुनै राहत पाउनु भएको छैन ? ‘राहतको नाममा एक गेडा चामल पनि पाएको छैन । ठूलाबडाहरुले त लिइहाल्छन्, हामीलाई कसले वास्ता गर्ने’, उनको अनुहारको निराशा र पीडा प्रस्टै देखिन्छ । उनी राहत खोज्न नगरपालिकासम्म पुगे । तर, नगरपालिकाले कामचलाउ पत्र दिएर झारा टारिदियो । अब उनलाई कहाँ जाने ? के गर्ने ? केही थाहा छैन । न उनले सरकारले दिने राहतको महसुस गर्न सकेका छन्, न त कुनै सुविधाबारेनै थाहा छ । अहिले उनीसँग छ त केवल आक्रोश मात्र । ‘हामीले नेतालाई कर तिरेका छौँ, पैसा नतिरे कारबाही गर्छन, तर दुःख पर्दा कोही नेताले केही गरेनन्’, बेलबहादुर भन्छन्, ‘अहिले त हामी विदेशी भएका छौँ, हामी नेपाली नै होइनौँ कि जस्तो गरियो ।’
स्रोत - |(दैनिक नेपाल) बाट

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.