छिमेकीको मलामीबाट फर्किएर खुकुरी हानेर पत्नीको हत्या
Advertisement

पस्किएको भात पनि खान पाइनन् गीताले
२०७२ जेष्ठ ९ शनिबार, सुर्खेत :  सुर्खेतको लाटीकोइलीस्थित नयाँगाउँका एक युवाले सामन्य विवादमा पत्नीकोे हत्या गरेका छन् ।


सामान्य बिवादमा स्थानीय तुलसिं नेपालीले पत्नी गीता नेपालीको शुक्रबार राती हत्या गरेका हुन् ।

दिउँसो छिमेकीको मलामी गएर फर्किएका उनले राती आठ बजेतिर २३ वर्षीया गीताको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मलामीबाट घर आएका तुलसिंले खाना खाने समयमा एक्कासी पत्नीलाई खुकुरी हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत चौधरीले बताए । प्रहरीका अनुसार तुलसिंले पत्नीको घाँटीमा खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । पत्नीको हत्या गरेपछि तुलसिंले आफ्नो पेटमासमेत खुकुरी प्रहार गरेर आत्महत्या प्रयास गरेका थिए ।

गम्भीर घाइते तुलसिंको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

स्थानीय बासिन्दाका अनुसार गीता र तुलसिंको ६ वर्ष अघि विवाह भएको थियो । उनीहरूको चार वर्षका छोरा छन् । मजदुरी गर्दै आएका तुलसिं र गीताबीच शुक्रवार बिहान खटपट भएपछि तुलसिं छिमेकीको मलामी गएका थिए ।

मलामीबाट फर्केर राती घरमा आएपछि खाना खाने समयमा पत्नीमाथि खुकुरी प्रहार गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

स्थानीयका अनुसार गीताले पति र छोरालाई खाना पस्केर आफूलेसमेत खाने तयारी गरिरहेकी थिइन् । तर, पतिले एक्कासी खुकुरी प्रहार गरेर हत्या गरेपछि उनले पस्केको भात समेत खान नपाएको छिमेकीको भनाइ छ ।

गीताको हत्यापछि अहिले गाउँ नै शोकमा डुबेको छ । छिमेकी तथा आफन्तहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन्. । जिल्ला प्रहरी कार्यालयले भने घटनाको मुचुल्का उठाएको छ ।

अब कारबाहीको प्रक्रिया सुरु गरिने जानकारी दिएको छ । पत्नीको हत्यामा संलग्न तुलसिंलाई प्रहरीले पक्रेको छ ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.