News
»
डनहरू राहत वितरणमा
डनहरू राहत वितरणमा
काठमाडौं, १२ जेठ भूकम्पपीडितलाई सहयोग गर्न बनाएका संयन्त्रमा दलहरूले डनहरूलाई पनि प्राथमिकता दिन थालेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले शनिबार कुमार घैँटे (कुमार श्रेष्ठ) लाई राहत कार्यक्रमका लागि काठमाडौंको उपसंयोजकको जिम्मेवारी दिई बालुवाटारमा बिदाइ गरे ।
कांग्रेसको खेलकुद विभागले बनाएको स्वयंसेवक टोलीमा घैँटेलाई उपसंयोजक बनाइएको छ । जसमा प्राय: गुन्डागर्दी पृष्ठभूमिका व्यक्ति छन् । टोलीको संयोजकमा हात्ती भनेर चिनिने राजु श्रेष्ठ छन् । घैँटेसहितको समूहलाई प्रधानमन्त्री कोइराला आफैँले बिदाइ गरेपछि प्रहरी अधिकारीहरू अचम्ममा परेका छन् । उक्त समूहले शनिबार काभ्रेस्थली तथा आइतबार चुनिखेलमा राहत तथा पुनस्र्थापनाको काम गरेको थियो । प्रहरीले पक्राउ गर्ने डरले विदेश भागेका घैँटे भूकम्पपछि नेताहरूको संरक्षणमा फर्किएर सक्रिय भएका हुन् । गुन्डाहरूलाई दलहरूले प्रश्रय दिन थालेपछि प्रहरी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । कुमार घैँटे मात्र होइन, डन भनेर चिनिएकाहरू यतिवेला राहतको नाममा आफ्नो प्रभाव बढाउनतर्फ केन्द्रित भएका छन् । कांग्रेसकै मीनकृष्ण महर्जन ललितपुरमा सक्रिय छन् । त्यस्तै, मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्य रहेका गणेश लामा पनि काभ्रेमा राहत बाँडिरहेका छन् । मिलन चक्रे गोरखालगायतका जिल्लामा राहत बाँड्नमा सक्रिय छन् । राहतको नाममा गुन्डाहरूलाई दलहरूले काखी च्याप्नु गलत भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताए । ‘राहतको नाममा गुन्डाहरू सक्रिय भएको हामीले पनि जानकारी पाएका छौँ,’ उनले भने, ‘उनीहरूलाई निगरानीमा राख्दै आएका छौँ ।’ आपराधिक गतिविधिबाट गुन्डाहरूले जम्मा गरेको कालोधनबाटै केही नेताले राहत लगेर आफ्नो चुनावी क्षेत्रमा बाँडिरहेको प्रहरी अधिकारीहरू बताउँछन् । source:nayapatrica
प्रतिक्रिया दिनुहोस्...