News
»
सिके राउतलाई भौतिक कारबाही गर्ने चेतावनी (विज्ञप्तीसहित)
सिके राउतलाई भौतिक कारबाही गर्ने चेतावनी (विज्ञप्तीसहित)
काठमाडौं, जेठ १४– राष्ट्रिय अखण्डता विरोधी र महिलालाई अपमानजनक शब्दको प्रयोग गर्दै हिँड्ने सिके राउतलाई भौतिक कारबाही गर्ने राष्ट्रिय सरोकार मञ्च (नेपाल ) नामक संगठनले चेतावनी दिएको छ ।

संगठनका अध्यक्ष सोमविक्रम सिंहले आज एक विज्ञप्ती जारी गर्दै राज्यले राउतलाई कारबाही नगरे आफूहरुले बाध्य भएर भौतिक कारबाही गर्ने चेतावनी दिएका हुन् । ‘राज्यले राउतलाई सजाय दिँदैन, कानुनी कठघरामा उभ्याउदैन भने बाध्य भएर राउत र त्यस्तो क्रियाकलाप सञ्चालन गर्ने ब्यक्ति, गिरोहमाथि भौतिक कारबाही गर्न पछि नहट्ने चेतावनी दिन्छौं’ सिंहको विज्ञप्तीमा भनिएको छ । ‘त्यो अवस्था आएको खण्डमा त्यसको जिम्मेवार सरकार र राउत हुनुपर्ने हाम्रो प्रष्ट धारणा छ’, विज्ञप्तीमा अगाडी भनिएको छ, ‘सिके राउतलाई कानुनी कठघरामा उभ्याई राज्यद्रोह गरेको आरोपमा कडा भन्दा कडा सजाय दिन राज्य समक्ष जोडदार माग गर्दछौं ।’ मञ्चले विवादास्पद अभिब्यक्ति दिँदै हिड्ने र क्रियाकलाप सञ्चालन गर्ने राउतले नेपाल र नेपाली महिला दिदि बहिनीलाई प्रयोग गरेका अपमान जनक शब्दप्रति आपत्ती समेत जनाएको छ । लामो समयदेखि राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्बभौमसत्ता, साम्प्रदायिकता जस्ता बिषयमा खलल पुग्ने अभिब्यक्ति तथा क्रियाकलाप सञ्चालन गर्ने उनलाई राज्यले बेला बेला समातेर थुन्ने र छोड्ने गर्दा गर्दा स्वाभिमानी नेपाली र नेपाललाई चोट पुगेको मञ्चले जनाएको छ । नेपालको अन्तरीम संविधान २०६३ को धारा १२ को उपधारा ३ मा बिचार अभिब्यक्तिको स्वतन्त्रता हरेक नागरिकलाई दिएको भएपनि सोही धाराको देहाय ३ को प्रतिबन्धात्मक ब्यवस्थामा भने देशको सार्बभौमसत्ता तथा अखण्डतामा आँच आउने, खलल पार्ने कुरामा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था भएको र सो को आधारमा उनलाई कारबाही गर्न कुनै कुराले नरोक्ने समेत मञ्चले सुझाएको छ । तर, संबिधान, ऐन, कानुनको बिपरित राष्ट्रिय अखण्डता, राष्ट्रियता, सम्प्रुभता, साम्प्रदायिकता आदिमा खलल पुग्ने अभिब्यक्ति दिएको र राज्य बिरुद्धको बिप्लव उत्पन्न गर्ने माहोल सिर्जना हुने प्रशस्त प्रमाण हुँदा हुँदै र कानुन बमोजिम रावतलाई सजायको प्राबधान हुँदा हुदै पनि राज्यले समात्ने र ससम्मान छोड्नु आश्चर्यजनक भएको भन्दै मञ्चले आक्रोश व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्...