.काँग्रेस नेताले बुहारी कुटे, बुहारीले चोलो खोलेर देखाइदिइन
Advertisement

नेपाल कांग्रेसको मोर्चा संगठन नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष कबेलबहादुर थिङ लामाले बुहारी पिटेका छन् । बुधबार छोरा सुरेन्द्र थिङसँग झगडा गरेको रिसमा बुहारी राममाया घलानलाई लठ्ठीले निलडाम हुने गरी पिटेपछि बिहीबार साँझसम्म र शुक्रबार बिहान पनि लामाको गाउँको प्रहरी चौकीमा कचहरी जारी रह्यो ।


घटना पूर्वी मकवानपुरसँग जोडिएको ललितपुर प्युटारको हो । २३ वैशाखमा बिहान ९ बजे गाउँमा भूकम्पको महसुस हुँदै थियो । गढीभन्ज्याङ प्राविका प्रधानाध्यापक पनि रहेका सुरेन्द्र थिङ भने पत्नी राममायासँग झगडा गर्दै थिए । एक महिनाअघि हराएको मोबाइल भेटिएपछि सुरेन्द्रले पत्नीलाई तैँले मेरो मोबाइल र पैसा चारेको भन्दै निहुँ खोजे । त्यही क्रममा उनले पत्नीलाई दुई मुड्की हाने ।

२०६२ सालदेखि नै पतिको पिटाइ सहँदै आएका राममायाले भनिन्, ‘सधैँ कति यसको पिटाइ खाएर बाँच्नु भन्दै हिर्काउन झम्टिएँ । त्यसपछि छोरालाई पिटेको भन्दै ससुराले पनि लठ्ठीले निलडाम हुने गरी पिट्नु भयो । लोग्नेले पिटेको कुरा त लुकाएकै थिएँ, ससुराले पनि पिट्न थालेपछि घटना बाहिर ल्याएँ ।’

‘चोलो फुकालेर देखाइदिएँ’

‘लोग्नले त रक्सी पिएर आउँथे, पिट्थे, छोराछोरीको अनुहार हेरेर बसेकै थिएँ,’ राममायाले भनिन्, ‘ससुराले त रक्सी नपिउँदै छोरासँग मिलेर पिट्न थाल्नु भयो, अनि कसरी सहेर बस्नु भन्दै घटना बाहिर ल्याएँ ।’ उनले थपिन्, ‘हिजो (२४ गते) गाउँमा राहत बाँड्न आएको थियो, त्यहाँ गाउँले पनि भेला भएको ठाउँमा नेता ससुराले पिटेको भन्दै चोलो फुकालेर निलडाम देखाइदिएँ ।’

मन परेरै बिहे गरेको

कक्षा १० मा पढ्दै गर्दा सुरेन्द्र र राममायाले एकअर्कालाई मन पराउन थाले । एकअर्कालाई मन परेको दुवैले महसुस गरे । यो मायापिरती विवाहमा परिणत भयो । राममायाले भनिन्, ‘मैले पनि मन पराएरै बिहे गरेको हुँ ।’ कक्षा १० पढ्दाताका बिहे गरेपछि राममायाले कक्षा १२ पास गरिन् भने सुरेन्द्र गाउँकै स्कुलमा प्रधानाध्यापक भए । उनीहरुको कक्षा ९ र ७ पढ्ने छोरी छन् भने चार वर्षको छोरा छ । १७ वर्षमै आमा बनेकी राममायाले २०६२ देखि नै पतिको कुटाइ खानु परेको बताइन् ।

अब सहदिनँ

२०६२ बाटै रक्सी पिएर कुटपिट गरे पनि सन्तानको अनुहार हेर्दै बसेँ । चित्त बुझाएँ । पैसा माग्ने र रक्सी पिएर झगडा गर्ने बानी नै परेको थियो । छोरी नै १४ वर्षकी छे । सधैँ नेताको छोरा र स्कुलको हेडमास्टर रहेका पतिले नै कुटेको कुट्यै गरे । भूकम्पपछि सबै घरमा भएका बेला पनि कुटे । त्यहीमाथि ससुराले पनि कुटे । त्यो दिन नौपटक कुटिएको उनले बताइन् । भनिन्, ‘पतिले रक्सी पिएर कुट्ने, ससुराले नपिउँदा पनि कुट्ने गरेपछि म कसरी बस्ने ?’

पति राक्षस, देवर देउता

प्युटार चौकीमा भइरहेको कचहरीमा पति सुरेन्द्रले पत्नीलाई घरमै लैजान्छु भनेर फकाए पनि राममाया घर जान डराइरहेकी थिइन् । उनले भनिन्, ‘पति रक्सी पिएपछि राक्षस जस्तो हुने, मेरा तीनजना देवर चैँ देवता जस्ता छन्, उनीहरु मेरै पक्षमा छन् । उनले भनिन्, ‘अरुजस्तो भए मलाई पिट्नेलाई प्रहरी गाला चड्काएर बयान लिइरहेको हुन्थ्यो, उहाँहरु त नेता, नेताको छोरा पर्नु भयो, प्रहरी नै उनीहरुका अगाडि घोसेमुन्टो लगाइरहेका छन् ।’ उनले त्यहाँ न्याय नपाए माइती नेपाल, महिला आयोगसम्म आउने बताइन् । भनिन्, ‘उनी र छोराछोरीका लागि भकारो सोरेर बसे पनि म पनि १२ कक्षा पास गरेकी छु, अब पनि सहनु आफैँमाथि अन्याय हुनेछ ।’

मलाई मार्ने भयो भन्छे छोरी चन्द्रबहादुर घलान, राममायाकी बुबा

नेप्लिज डट ओआरजीलाई फोनमा राममायाका बाबु चन्द्रबहादुर घलानले भने, ‘मैले त छोरीको घरबार राम्रै होस् भनेको थिएँ, छोरी त त्यो घरमा बस्न सक्दिनँ, मलाई मार्छन् बुबा भन्छे ।’ प्युटार चौकीमा असईको कमाण्डमा भइरहेको कचहरीबाट निस्केर कालीदेवी उच्चमाविको चौरबाट उनले भने, ‘जहिले रक्सी पिएर कुटेको त सुनेकै हुँ, अस्ति पनि मोबाइल चोर भनेर कुटिँदा रोक्नु पर्ने सम्धीले नै कुट्नु भएपछि छोरी त्यो घर फर्कन नै मानेकी छैन, चौकीमा पनि उनीहरुकै ठूलो स्वर भइरहेको छ । उपचारका लागि काठमाडौँ लैजाने भनेर पठाउन लागेँ ।

सल्भ नेपालद्वारा उद्धार

अब झगडा गर्दिनँ, यो घटनालाई अघि नलैजाउँ भन्दै पति सुरेन्द्रले फकाए पनि राममाया आजित भइसकेकी थिइन् । कांग्रेस नेता ससुराबाट पनि उनले न्याय पाउने आसा मरेपछि घटना बाहिर ल्याउन बाध्य भएकी हुन् । दुईदिन प्युटार चौकीमा चलेको कचहरीपछि मिलाप हुन सकेको छैन । शुक्रबार दिउँसो सल्भ नेपालले राममायालाई उद्धार गरेर उपचारका लागि काठमाडौँ ल्याएको छ । नेपाली कांग्रेसका नेता कबेलबहादुर थिङ लामा र उनका छोरा सुरेन्द्रलाई प्रहरीले कुनै कारबाही गरेको छैन ।

कबेलको मोबाइल अफ

नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष कबेलबहादुर लामासँग शुक्रबार बिहानदेखि नै सम्पर्क गर्न खोजियो । तर सम्पर्क हुन सकेन । सुरुमा उनको मोबाइलमा सम्पर्क हुन नसकेको सन्देश आइरहेको थियो । पछि मोबाइल स्वीच अफ भन्यो । स्थानीयका अनुसार, उनीहरु घटना लुकाउन खोजिरहेका थिए । नेपाली कांग्रेस ललितपुर–१ का संविधानसभाका समानुपातिक उम्मेदवारसमेत रहेका लामा राजनीतिक चरित्र क्षयीकरण हुने त्रासमा मिलाएर बुहारी घर लैजाने पक्षमा थिए भने प्रधानाध्यापकको जागिर पनि धरापमा पर्ने भन्दै पति सुरेन्द्र पनि पत्नीलाई घर लैजाने र मिल्ने पक्षमा थिए । त्यसो गर्दा गाउँको चौकीले पनि गल्ती स्वीकारेको भन्दै उनीहरुलाई ‘थर्ड डिग्री’ नलगाइ नेताज्यू भन्दै ‘स्वागतसत्कार’ गर्ने नै भयो । नेता र प्रधानाध्यापकको इज्जत जोगिनै नै भयो ।

यस्तो कुरा लुकाउनै मिल्दैन मदन अमात्य, सभापति, नेपाली कांग्रेस ललितपुर

हामीले सबैलाई न्याय दिनु पर्छ । राजनीतिक आडमा कोहीकसैले कानुन मिच्नै सक्दैन । त्यसमाथि जिम्मेवार पदमा बसेकै नेताले बुहारी कुटेको कुराले त पार्टीको पनि बदनाम हुने नै भयो । यस्तो विषयमा हाम्रो पार्टीको भनेर जोगाउनै मिल्दैन । प्रहरीले तत्काल पीडितलाई न्याय दिने प्रक्रिया चाल्नु पर्छ । यस्तो कुरा गाउँमा मिलाउने, लुकाउने काम गर्नु झन अपराध संरक्षण गर्नु हो । त्यो नानीलाई पनि कानुनी कारबाहीमा अघि बढ्नू भनेर सुनाइदिनुहोला ।quicknpnews

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.