-पारसको पञ्जाबाट मुक्त गणतन्त्र
Advertisement
लोपोन्मुख राजतन्त्रको इतिहासमा सूर्यसँगै अस्ताउने भनिएको बृटिस राजतन्त्र घोप्टो चेप्टो नेप्टो भएर पनि बेलायतलगायत बृटिस राष्ट्रमन्डलको समेत स–सम्मान आर्जन गरेकोछ ।
जहाँसम्म नेपालको सवाल छ, राष्ट्र निर्माणको जसर प्रतापले २४५ वर्षसम्म येनकेन शासन चलाए । गोरखनाथ बाबाको घोषणाअनुसार ११औँ पुस्तामा अन्त्य वस्तुत २०५८ साल जेष्ठ १९ गते भैसकेको हो । कृत्रिम तरिकाले लम्ब्याएको राजतन्त्र आखिर २०६५ साल जेष्ठ १५ गते संसदको सर्वसम्मतिबाट सदाको लागि अन्त भयो र लामो करतल ध्वनीकाबीच गणतन्त्रको घोषणा गरियो ।
२०५८ जेष्ठ २२ मा, २००७ सालमा नै राजा त्रिभुवन भारतमा निर्वासनमा जाँदा श्रीपेच पहिरिसकेका ज्ञानेन्द्र दोस्रो पटक राजा भएका थिए । सुरुमा बहुदल प्रजातन्त्र र संवैधानिक राजतन्त्रप्रति आफ्नो प्रतिवद्धता जनाए पनि देश र जनताको वास्तविक कल्याणभन्दा पनि आफ्नो भूमिका, शक्ति र अधिकार बृद्धिको लागि देशमा व्याप्त माओवादी हत्या र आतंकलाई प्रयोग गरेको देखिन्छ । उनको शासनको जग जसरी मओवादी र राजनैतिक दलहरुबीचको मतभिन्नता माथि ऊभिएको थियो । त्यसरी नै यी शक्तिहरुको एकताबाट ज्ञानेन्द्रको शासनको अन्त्य भयो । २०६४ साल चैत २४ गते सुरु भएको १९ दिने आन्दोलन चर्कियो । सो आन्दोलनको दौडान ४५०० भन्दा बढी घाइते २००० भन्दा बढी गिरफ्तार र २१ जनाको मृत्यु भयो । दलहरु सँग हार खाएर तै राजतन्त्र बचिहाल्छ कि भनेर २०६३ वैशाख ११ मा शाही सन्देशमार्फत् २०५८ साल जेष्ठ ८ गते विघटन भएको प्रतिनिधिसभालाई राजाले पुनःस्थापना गरे । त्यस विजयको सम्झनामा यद्यपि लोकतन्त्र दिवस मनाइन्छ किनकि त्यहि पुनःस्थापित संसदले नै २०६३ को अन्तरिम संविधान पारित गरेर राजालाइ सबै अधिकारबाट च्यूत गरिदियो ।
राजाहरु जनताको लागिभन्दा गद्दीको लागि समर्पित हुन्छन् । फेरि राजतन्त्रको जोखिम राजा होइन राजसंस्था मानिन्छ । ‘राजा मरे । राजतन्त्र अमरहोस्’ भन्ने स्रर्वमान्य सिद्धान्तअन्तर्गत् राजा ‘ज्ञानेद्रले दाजुलाई मार्यो’ भन्ने आरोपको पैरवी नहुँदै गद्दी आरोहण गरे । शाहवंशका सबै राजाहरु प्रजावत्सल र शासन गर्न लायक हुँदैनन् भन्ने कुरा इतिहास शिरोमणि बाबुराम आचार्यको यो टिप्पणीबाट पुष्टि हुन्छ । ‘हुन पनि राजा रणबहादुर शाह निकै मनमोजी भएर निस्किएका थिए । यिनको मन राजकाजतिर भन्दा आमोद–प्रमोद र लहडबाजीतर्फ आकर्षित थियो । रुपले सुन्दर भए पनि यिनी कठोर ह्रदयका व्यक्ति थिए । यिनी घोडा चढ्न डराउँथे र प्रायः मान्छेको पिठ्युँमा सवार हुन्थे । साँढे जुधाउनुमा ठुलो सोख थियो । यिनले साँढे–वैद्यदेखि गौचरन र दाल भातको समेत व्यवस्था गरेका थिए । यिनैताका राजा रणबहादुर शाहले शिवरात्रीमा तीर्थ गर्न आएकी ‘कान्तावति’ नामक विधवा तिरहुत बाहुनीसँग बिहे गरे । हिन्दुधर्म र राजपरम्पराअनुसार वर्जित बिहे मात्र होइन, उनैपट्टिका छोरा गीर्वाणविक्रमलाई राजासमेत बनाए । रानी बिरामी हुँदा उपचार लागेन भनेर वैद्यलाई नै मारे । आफ्ना काका राजकुमार बहादुर शाहलाई नै मारे । अन्त्यमा यी सन्काहा राजा गेरु वस्त्र लाएर काशी भासिए ।’
रणबवहादुरको चरित्र हुबहु पारससँग मिल्दो–जुल्दो छ । राजतन्त्र रहेको भए उनी अहिले नेपालका राजा हुने प्रवल सम्भावना थियो । त्यसैले पारसको विगतका ऐना नियाल्नु सान्दर्भिक हुनेछ । वीरेन्द्रको हत्याकान्डमा देखि–जान्नेले गोली हान्ने भनेर पोलिएका दीपेन्द्रलाई ‘कालोपदार्थ’ चरेस टक्र्याएको भनी आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यस आयोगको अध्यक्षता तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायले गरेका थिए । त्यसअघि पनि २०५३ असारमा पुतलीसडकमा पारसले चलाएको गाडीले ठक्कर दिँदा ट्याक्सी ड्राइभरको मृत्यु, भरतपुरको बसपार्कमा स्थानीय युवाहरुसँग झगडा गरेर भाग्दा पुलिसको गाडीमा ठककर । त्यसैगरी, ०५७ साउनमा मातेर गाडी चलाउँदा र सो गाडीले ठक्कर दिएर संगीतकार प्रविण गुरुङको हत्या र नारायणहिटी दरबारमा पिता ज्ञानेन्द्रको जन्मोत्सव मनाएपछि पत्नी हिमानीलाई तर्साउन ०६१ असोजमा एभरेस्ट होटलमा हवाईफायर गरेका पारसले हप्ता नपुग्दै सोही होटलको ग्यालेक्सी डिस्कोमा व्यापारी साझेदार सिद्धार्थ राणा र श्रीमती नीलमलाई निर्घात कुटेका थिए । यसरी नै ०६७ र ०६८ मा क्रमशः चितवनको टाइगर टप्स होटलमा नेतृ सुजाताको श्रीमानमाथि गोली प्रहार र ज्वाँई राजबहादुरको क्यासिनोमा कर्मचारीमाथि कुटपिट । नातागोता सबैको अगाडि बस्न लायक नभ पछि पारस थाइल्यान्डतिर लागेका थिए ।
नानीदेखि लागेको बानी कँहा जान्छ र ? २०६९ मंसिरमा लागूऔषध प्रयोग गरेबापत पुनःस्थापना केन्द्रमा नबसेकोमा थाइल्यान्डमा पक्राउ । पटक–पटक कहिले अपार्टमेन्टमा हो–हल्ला गरेबापत, कहिले लागूपदार्थ सेवन गरेबापत विभिन्न मुद्दामा थुनामा परेका पारसलाई थाइल्यान्डको अदालतबाट २०७१ असोजमा २२ लाख धरौटीमा छुटाइ काठमाडौं ल्याइएको छ । तर, उनलाई निर्मल निवास भित्र्याइएको छैन । राजालाई श्राद्धमासमेत पितृ समान तर्पण दिँदै नेपाली समाजको संस्कृतिको रुपमा रहेको राजतन्त्रलाई अनायस बिदा गर्दा नेपालीहरुमा न्याउरीमारी पछुतो हुन्छ कि भन्ने भाव नजागेको होइन । तर, सम्भावित राजा पारसको चरित्र र अपराधिक क्रियाकलापले राजाको अभाव पुरिएको मात्र होइन, बचे–खुचेको पश्चातापको छाँया पनि सदाको लागि नेटो काटेको छ ।
Advertisement