भरियादेखि तारेहोटलको मालिकसम्म
Advertisement

दरिलो आत्मविश्वास र निरन्तर परिश्रम गरे त्यसको फल पनि मीठो हुन्छ, कर्म गरे फल मिल्छ भन्ने ध्रुवसत्यलाई चरितार्थ गर्ने उदाहरणीय पात्र हुन् जुम्ला जज्र्याङ्कोट–३ का नुर्बु लामा ।
दुःख सङ्घर्ष, हैरानी लामाको दैनिकीसँग जोडएको कुरा हो । जीवनका अनेकौँ दुःख, सङ्घर्षलाई वास्ता नगरी उहाँ आफ्नो भविष्यको गोरेटो कोर्ने दिशामा निरन्तर लागिरहनुभयो ।

दुर्गम गाउँमा जन्मनु लामाका लागि नियति नै थियो । विकल्प के त, भाग्यअनुसारको कर्म गर्र्नैपर्ने रहेछ । गाउँको दुःखलाई छिचोल्न नसकी लामाले राजधानी काठमाडौँको यात्रा तय गर्नुभयो । करिब २५ वर्ष पथ प्रदर्शकको काम गर्नुभएका लामाले सुरुमा विदेशी पर्यटकको भारी बोक्नुभयो ।
कामलाई कहिले पनि सानो नठान्ने लामाले काठमाडौँको मल्ल होटलको ‘मल्ल ट्रेक्स’मा काम गर्नुभयो । भारतको सिक्किम दार्जिलिङमा पनि काम गर्नुभयो । यसरी पर्यटन क्षेत्रमा लामो अनुभव बटुलेका लामाले अहिले कर्णाली अञ्चलकै ठूलो तारे होटल ‘कान्जिरोवा होटल’ सञ्चालन गरिरहनुभएको छ । लामाले आफ्नै मेहनत र बलबुतोको कमाइले करिब रु सात करोड लगानीमा आधुनिक सुविधा सम्पन्न होटल सञ्चालन गर्नुभएको हो ।
करोडको मालिक भए पनि व्यवसायी लामा होटलको सबैखाले काममा दिनहुँ व्यस्त हुनुहुन्छ । मिजासिलो बोली व्यवहारले नै होला उहाँको होटलमा पुग्ने जो कोही मक्ख पर्छन् । अचम्मको कुरा त लामाले विदेशी पर्यटक नेपालीलाई एकै दरमा सेवा दिनुभएको छ ।
“विदेशीको भारी बोकेर आज म यो ठाउँमा आएको छु पर्यटक पाहुनाको स्वागत सत्कार नै नेपाली पर्यटनको मूल आधार हो । त्यही भएर यहाँ पर्यटक ओहिरिने गर्छन् नेपाली र विदेशीलाई एउटै दर रेटमा सुविधा दिएको छु” – व्यवसायी लामाले भन्नुभयो ।
जुम्लाको विमानस्थल नजिक रहेको कान्जिरोवा यहाँको मात्र हैन कर्णाली अञ्चलकै ठूलो र प्रख्यात होटल हो । मुलुकका प्रतिष्ठित व्यक्तित्वहरु मन्त्री, सभासद्, प्रशासकहरु यही होटलमा वास बस्छन् । जुम्ला पर्यटकीय हब भएकाले पनि यहाँका होटल व्यसाय फस्टाएका छन् । यहाँ क्षेत्रीय होटल सङ्घमा आबद्ध १५० होटल तथा रेष्टुराँ छन् । तीमध्ये पर्यटकस्तरीय ३१ वटा छन् ।
विमानस्थल नजिक र राजधानीका सुविधा सम्पन्न पाँचतारे होटलस्तरको सेवा पाउने भएकाले पनि विदेशी तथा स्वदेशी पर्यटक यहाँ अधिक आउने गर्छन् । आफूसँग पर्यटन क्षेत्रमा लामो अनुभव रहेकाले पर्यटकलाई स्तरीय सेवाका साथै उचित परामर्श दिने गरेकाले पर्यटक बढी आउने गरेको व्यवसायी लामाको भनाइ छ ।
सस्तो र सुलभ सुविधा भएकाले कान्जिरोवा होटलमा पर्यटकको आकर्षण छ, रु ३५० मा खाना र एक रात बस्न रु एक हजार ५०० लाग्छ । जुम्लाहुँदै उच्च हिमाली पर्यटकीय क्षेत्र मुगु, हुम्ला र डोल्पा पदयात्रा, दृश्यावलोकन आदिका लागि यहाँ पर्यटक आउने गरेका छन् ।
पर्यटकीय हिसाबले महत्वपूर्ण यहाँ प्रख्यात रेडपाण्डा, कालो भालु, चितुवा, बँदेल, भारलगायतका वन्यजन्तु अवलोकन गर्न पाइन्छ । प्रसिद्ध मुगुको राराताल, डोल्पाको सेफोक्सुण्डो ताल, गिरी दहलगायतका पवित्र धार्मिक तीर्थस्थलले पनि यो क्षेत्रको पर्यटनलाई उच्च बनाएको छ ।
जुम्लाको छ हजार ८७० मिटर अग्लो कान्जिरोवा हिमाल प्रख्यात हिमाल हो । यस्तै छ हजार एक सय मिटर अग्लो पातारासी हिमाल, छ हजार दुई सय मिटर अग्लो सिस्ने हिमाल, छ हजार मिटर अग्लो हिउँचुली हिमाललगायत विदेशी पर्यटनको आकर्षण हुन् ।
राराताल, हिमाल र जडीबुटी अवलोकनका लागि जर्मनी, फ्रान्स, बेल्जियम, म्याक्सिको, स्विट्जरल्यान्डलगायतका देशबाट बढी पर्यटक आउने गरेका छन् । यहाँ पर्यटनको बजार फस्टाएको भए पनि भूकम्पका कारण अहिले पर्यटक घटेका छन् ।
अहिलेको याममा पर्यटकका पाँच वटा समूह यहाँ रोकिएका व्यवसायी लामाले बताउनुभयो । अघिल्लो वर्ष जुम्ला हुँदै १६ वटा समूहमा विदेशी पर्यटक जुम्ला हुँदै हिमाली क्षेत्रमा घुम्न आएका थिए । व्यवसायीका अनुसार अघिल्लो वर्ष जुम्ला हुँदै करिब ५०० पर्यटक हिमाली क्षेत्रमा गएका थिए ।
रारा, मुगु र खप्तड क्षेत्रमा पथ प्रदर्शकको काम गर्दै आउनुभएका जुम्लाका सीपबहादुर बुढाले हिमाल, जडीबुटी र जङ्गली जनावर अवलोकनका लागि बढी पर्यटक आउने गरेको भए पनि भूकम्पले गर्दा अहिले पर्यटक घटेको बताउनुभयो ।
जुम्लाकै अर्का होटल व्यवसायी अशोककुमार श्रेष्ठ पनि बर्सेनि १० प्रतिशतले पर्यटक बढिरहेको भए पनि यो याममा भूकम्पले पर्यटन क्षेत्र डामाडोल भएको बताउनुहुन्छ । यहाँबाट डोल्पाको सेफोक्सुण्डो ताल, माथिल्लो डोल्पामा पर्यटक पदयात्रामा जान्छन् तर त्यहाँ कुनै बस्ती र बाटोको पथ नहुँदा पर्यटकले समस्या भोग्नुपरेको छ ।
जुम्लाको पर्यटन प्रवद्र्धनका लागि जनचेतना, सरसफाइलगायतका कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउन जरुरी भएको व्यवसायी श्रेष्ठले बताउनुभयो । कर्णाली अञ्चलकै राजधानीका रुपमा रहेको जुम्लाको पर्यटन प्रवद्र्धनका लागि सरोकारवाला निकायले योजनाबद्ध अभियान चलाउन सके मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने सम्भावना देखिन्छ यसतर्फ बेलैमा ध्यान जान जरुरी छ । रासस



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.