.भारतमा बस दुर्घटना हुँदा ५ नेपालीको मृत्यु
Advertisement

सुर्खेतः भारतमा बस दुर्घटना हुँदा ५ जना नेपालीको ज्यान गएको छ । शनिबार भएको उक्त दुर्घटनामा परेर अन्य ११ जना नेपाली यात्रु घाइते भएका छन् ।


भारतको गुजरातबाट रुपैडिया हुँदै नेपालगञ्ज आउँदै गरेको बस शनिवार विहान राजस्थान प्रदेशको उदयपुर जिल्लामा दुर्घटनामा परेको हो ।

तीव्र गतिका कारण बस मोडमा पल्टिएको थियो । दुर्घटनामा परी ज्यान गुमाएकामध्ये एकको मात्र सनाखत भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका सुर्खेत लेखफर्साका ६ वर्षीय बालक संगम विकको मात्र सनाखत भएको छ । अन्य चार जनाको सनाखत हुन नसकेको र उनीहरु पनि सुर्खेतकै बासिन्दा भएको अनुमान गरिएको छ ।

सुर्खेतकै केही व्यक्तिहरुले चलाउँदै आएको श्री पञ्चकोशी ट्राभल्सको उक्त बसमा सुर्खेतका नागरिकहरु घर आउन चढेका थिए । गुजरातमा रहेका हरी महरले चारजनाको सनाखत हुन नसकेको र उनीहरु सबै सुर्खेतका हुनसक्ने बताए ।

उनका अनुसार घाइते भएका ११ जनाको उदयपुरमा रहेको भूपाल राजकीय हस्पिटलमा उपचार भइरहेको छ । पाँच जना नेपालीले सञ्चालन गदै आएको बस दुर्घटनामा परेपछि सञ्चालकहरु पनि फरार भएका छन् ।

बस दुर्घटनामा परेपछि बसमा रहेका अन्य नेपालीहरु स्थानीय धर्मशालामा अलपत्र परेका छन् । यस्तै केही यात्रुहरु अस्पतालमा रहेको महरले जानकारी दिए ।

बस सञ्चालकहरुलाई भेटेपछि मात्र मृतक र घाइतेलाई आफन्तको जिम्मा लगाइने जानकारी भारतीय प्रहरीले दिएको छ । आइतवारमात्र थप मृतक तथा घाइतेको पहिचान हुने भारतीय प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन ।

अत्याधिक भार र तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ । बसका चालक पनि फरार छन् । बस दुर्घटना भएको खबर पाएपछि सुर्खेत लेखफर्सामा रहेका आफन्तहरुमा रुवाबासी चलेको छ । source naulo-khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.