विकटमा पुर्‍याइएको खाद्यान्न लुकाएर बेच्न लागेको खुलासा
Advertisement

२७ जेठ, बनेपा ।
भूकम्प पीडितलाई बाँड्न काभ्रेको विकट कोसीपारि, चौबास गाविसमा लगिएको सरकारी राहतको चामल र चिउरा बेच्ने उद्देश्यले लुकाइएको खुलासा भएको छ। स्थानीयको उजुरीका आधारमा काभ्रे प्रहरीले तीन पसलबाट ४५ बोरा चामल र २० बोरा चिउरा बरामद गरेको हो।

‘चौबासमा वितरण गर्ने भनेर लगिएको खाद्य संस्थानको चामल र चिउरा गोठपानी, सानो वाङथली र धुसेनी शिवालयका तीनवटा पसलमा बेच्ने उद्देश्यले लुकाइएको फेला पारेका हौं,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले भने ।
प्रहरीले खाद्यान्न बरामदलगत्तै गोठपानी–९ का गुणप्रसाद चौलागाईं र कृष्णप्रसाद चौंलागाईं, धुसेनी शिवालयका इन्द्र लामा, पुन्जु शेर्पा र ट्रक चालक प्रकाश तामाङलाई पक्राउ गरेको छ। यस्तै, सरकारी राहत बेच्ने प्रयोजनले लुकाउन संलग्न भएको भन्दै चौबास–७ का सूर्यबहादुर तामाङ र छोरा विजयलाई समेत पक्राउ गरेको छ।
‘सूर्यका छोरा अशोक भनिने जितमान लामा र केवल लामाले काठमाडौंबाट ल्याइएको खाद्यान्नमध्ये ४७ बोरा चामल र २० बोरा चिउरा गोठपानी–९, मझुवास्थित चौलागाईंको पसलमा लगेर स्टोर गरेको पाइयो,’ डिएसपीकेसीले भने।
नेसनल ट्रेडिङ लिमिटेडस्थित राहत शिविरबाट जिल्ला प्रशासन कार्यालय काभ्रेका नाममा वैशाख २२ गते साँझ ना३ख ५६१३ नम्बर ट्रकमा २ सय बोरा चामल, १ सय बोरा चिउरा, ५ बोरा नुन, २ सय कार्टुन चाउचाउ र १ सय ८० थान ब्लांकेट निकासा भएको थियो। तर, उक्त सामग्री जिल्ला दैवी प्रकोप उद्धार समितिको धुलिखेलस्थित भण्डारमा दाखिला नगरी चौबासकै केवल लामाले गाउँतर्फ लगेका थिए। आजको नागरिकमा खबर छ।source:npheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.