.प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको थाहा छैन
Advertisement

तपाईं केपी ओलीलाई प्रधानमन्त्री बनाउने अभियानमा लागेकामा धेरैले आश्चर्य मानेका छन्, के भन्नुहुन्छ ?
मैले केपी ओली वा कसैलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर अभियान थालेको छैन । मैले दुईवटा कारणले राष्ट्रिय सरकारको कुरा ल्याएको हुँ । मुलुक गम्भीर संकटमा छ । ठूलो चुनौतीको सामना गरिरहेको छ ।

यो चुनौतीले हामीलाई अवसर पनि प्रदान गरेको छ । अहिलेको महाविपत्ति र संकट अझै बढ्ने सम्भावना छ । वर्षायाम आउनै लागेको छ । बाढी र पहिरोले ठूलो विपत्ति ल्याउन सक्छ । पहिरोले बाटो भत्किएर यातायात अवरुद्ध हुनसक्छ । डाँडाकाँडाको माटो भूइाचालोले खुकुलो बनाएको छ । पहाडका पहाड खस्न सक्छ । यस्ते कहाँकहाँ असर गर्छ अहिल्यै भन्न सकिने अवस्था छैन । यो सबैका निम्ति अहिलेदेखि नै पूर्वतयारी थाल्न जरुरी छ । सम्भावित चुनौती सामाना गर्न बन्दोबस्त मिलाएर अहिल्यैदेखि बस्नुपर्ने आवश्यकता छ । भूकम्पको चुनौती छ छँदैछ । जनताको मनमा पसेको डर हटाएर आश्वस्त तुल्याउनुछ ।  अझै राहत वितरणको काम सकिएको छैन । त्यसपछि पुनर्निर्माणको काममा जुट्नु पर्नेछ । सुरुमै स्थायी रुपमा बसोबास गर्ने गरी संरचना निर्माण गर्र्नुपर्छ । २ लाखमै १५ वर्षसम्म बस्न मिल्ने घर बन्दोरहेछ । देशभित्रका सबै शक्तिलाई अपिल गरेर स्वयंसेवकका रुपमा परिचालन गर्नुपर्ने आवश्यकता छ । साथसाथै हामीले दिर्घकालीन महत्व राख्ने भौतिक संचरनाको निर्माण पनि गर्नेपर्ने छ । भूकम्पले क्षतिग्रस्त भएका ऐतिहासिक र पुरातात्विक महत्वका संरचनाहरुको पुनर्निर्माण गर्नुपर्ने दायित्व छ ।
भूकम्पले लथालिङ्ग पारेको कृषि कार्यलाई निरन्तरता दिनुछ । उद्योगहरु सुचारु गर्ने कुरालाई महत्व दिनुपर्छ  । पर्यटकलाई नेपाल आउन आश्वस्त तुल्याउनुपर्ने छ । फास्ट ट्र्याकमा मध्यपहाडी लोकमार्ग र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरालाई उच्चतम प्राथमिकता दिनुपर्दछ । राज्यले भूउपयोग नीति लागू गर्नुपर्दछ । मानिसहरुलाई एकैपठक ठूलो संख्यामा रोजगारीको अवसर जुटाउनुपर्छ । यी सबै कामका निम्ति हामीले व्यवस्थित तवरले काम गर्नुपर्छ । यी सबै काम राष्ट्रिय सहमतिको सरकारले मात्र पुरा गर्नसक्छ । एमाओवादीसहित विपक्षमा रहेका अरु पार्टीहरु पनि सकारात्मक देखिएका छन् । सिंगो राष्ट्र नै एकताबद्ध हुन खोजिरहेको छ । मधेस, पहाड र हिमाल एकताबद्ध भएको अवस्था छ । देशभक्त शक्तिहरुको भावनालाई महाभूकम्पले छियाछिया पारेको छ । यस्तो  बेलामा हामीलाई बलियो सरकार चाहिएको छ ।
अहिले सरकारको नेतृत्वका विषयमा लुछाचुँडी गर्ने बेला होइन । जसको नाममा साझा सहमति हुन्छ त्यसैको नेतृत्वमा सरकार बनाउनुपर्छ । त्यसका लागि नेकपा एमाले खुल्ला छ ।
अहिले देशमा तपाईंहरु समेत सहभागी भएको सरकार छ, यही सरकारलाई राष्ट्रिय स्वरुप दिन सकिँदैन ?
के एमाओवादी र मधेसवादीसहित प्रतिपक्षमा रहेका दलहरु यही सरकारमा सहभागी भएर जान सक्छन्  त ? यदि अहिलेकै प्रधानमन्त्रीमा सबैको सहमति हुन्छ भने ठीकै छ । होइन नयाँ ल्याउनुपर्छ भन्ने हो भने पनि तयार हुनुपर्छ । सरकारको नेतृत्वको विषयमा हानाथाप गर्नु हुँदैन ।
तपाईंको भनाइको अर्थ सहमति हुन्छ भने सुशील कोइरालाले छोड्न्ुपर्दैन ?
सबै कुरा अहिले नभनी हालौं । मैले सबै पक्षलाई समेट्ने कुरा गरिरहेको छु । तेरोमेरो भन्ने बेला छैन । देशका सबै प्रवुद्ध वर्ग, नागरिक समुदाय, आप्रवाशी नेपालीहरु सबैको बुद्धि, विवेक, क्षमता, पुँजी, प्रविधि सबैलाई हामीले राष्ट्रको पुनर्निर्माणमा लगाउनुपर्छ ।
काँग्रेसका केही नेताहरु दुई तिहाइको समर्थनप्राप्त वर्तमान सरकार नै राष्ट्रिय सरकार हो भनिरहेका छन् । के यो कुरा ठीकै होइन र ?
त्यतिले मात्र पुगने भएको भए अहिले हामीले राष्ट्रिय सरकारको कुरा किन गर्नुपथ्र्यो र ? दुईटा मेजर फोर्स सरकारबाहिरै छन् । उनीहरुलाई पनि सरकारमा नल्याई राष्ट्र पुनर्निर्मा अभियान अगाडि बढाउन सकिँदैन ।
अब बन्ने सरकार पनि विगतकै सरकारहरुको निरन्तरताबाहेक केही हुन सक्दैन भन्नेहरुलाई के जवाफ दिनुहुन्छ ?
अब बन्ने सरकारका चारवटा काम छन् । पहिलो छिट्टै मुलुकलाई नयाँ संविधान दिने । दोश्रो स्थानीय निकायको निर्वाचन गराउने । तेश्रो वर्षायाममा जनतालाई बस्ने बासको व्यवस्था मिलाउने र चौथो काम भत्किएका संरचनाहरु घर, स्कुल, स्वास्थ्य चौकी, सरकारी भवन र ऐतिहासिक धार्मिक महत्वका संरचना निर्माण गर्ने । कारागार भत्किएर बन्दी कहाँ राख्ने भन्ने समस्या छ । भूकम्पसँग सम्बन्धित संग्रहायल बनाउनुछ । भूकम्पको अध्ययन अनुसन्धान र विज्ञहरु तयार पार्नुपर्ने छ । यो दिर्घकालीन महत्वको काम हो । त्यसका लागि योग्य र सक्षम व्यक्तिहरुको सहभागितामा सरकार बनाउनुपर्दछ ।
तपाईंको संकेत राजनीतिक दलबाहिरबाट पनि सरकारमा ल्याउनुपर्छ भन्ने हो ?
दलबाहिरका मानिसलाई सरकारमै ल्याउनुपर्ने केही छैन । सरकारले पुनर्निर्माण प्राधिकरण बनाउला, विभिन्न समिति र उपसििमतहरु बन्लान् ती सबैमा सबै क्षेत्रका विज्ञहरुको काम आउँछ ।
प्रचण्डले दलहरुको बैठकमा केपी ओलीलाई प्रधानामन्त्री प्रस्ताव गरेको कुरा के हो ?
आफ्नो अध्यक्षलाई कसैले प्रधानमन्त्री प्रस्ताव गरेको छ भने त्यो नेकपा एमालेका लागि खुसीको कुरा हो । तर मलाई प्रचण्डले केपी ओलीलाई कुनै बैठक वा भेटघाटमा प्रधानमन्त्री प्रस्ताव गरेको कुरा मलाई थाहा छैन । मसँग त्यसबारेमा कुरा भएको पनि छैन ।
तपाईं र विष्णु पौडेलले प्रचण्डसँग बाराम्बार भेटिरहनु भएको छ, तपाईंलाई यो कुरा थाहा नभएर कसलाई थाहा हुन्छ ?
प्रचण्डजीले बाहिर भन्नुभएको भए मलाई थाहा हुने कुरा भएन । तर हामीसँगको छलफलमा व्यक्तिका बारेमा कुरा भएको छैन ।  मुलुकका लागि राष्ट्रिय सहमतिको सरकार चाहिएको कुरामा भने हामी एकमत भएका छौं ।
काँग्रेससँग भएको पूर्वसहमति अनुसार अब एमालेले सरकारको नेतृत्व लिनु स्वाभाविक होइन र ?
व्यक्तिका बारेमा हामी प्रवेश गरेकै छैनौं । जनता सत्ताको घिनलाग्दो खेलबाट वाक्क भइसके । सत्ताका निम्ति हानथाप गरेर समय बर्बाल गर्ने बेला यो होइन । अहिले सबैलाई समेट्ेने बेला हो । सबैलाई परिचालन गर्ने बेला हो । यो काम सम्पन्न गर्न जसले नेतृत्व लिँदा राम्रो हुन्छ, उसैको नेतृत्वमा सरकार बनाऔं ।
सत्ता केही होइन भने सारा जीवन राजनीतिमा बिताएका वृद्ध प्रधानमन्त्रीले छिटो संविधान जारी गरौं त्यसपछि बाटो खुल्ला गरिदिन्छु भन्दा किन नमान्नुभएको छ ?
उहाँको त्यस्तो इच्छा छ भने संविधान जारी गरौं न त । एउटा व्यक्तिको इच्छा पूर्तिका लागि मुलुकको समस्यालाई अलपत्र पार्न मिल्दैन । सबैको सहमति हुन्छ भने हाम्रो आपत्ति रहँदैन । तर, जे गर्दा पनि मुलुकलाई केन्द्रमा राखेर गर्नुपर्छ ।
दसैं अगाडि नै मुलुकले राष्ट्रिय सरकार पाउला त ?
दसैं किन, मुलुक यति ठूलो संकटमा रहेको बेलामा वर्षात सुरु हुनुभन्दा अगाडि नै राष्ट्रिय सरकार बन्नुपर्छ ।
एकथरि मानिसहरु पूर्वप्रधानमन्त्रीसहित सरकारमा रहँदा राम्रा काम गरेका मन्त्री र विज्ञहरुको सहभागितामा सरकार बनाउनुपर्छ भन्ने भनिरहेका छन् । त्यसलाई के भन्नुहुन्छ ?
पूर्वप्रधानमन्त्री भएको मानिस मन्त्री बन्न मिल्छ । त्यो कुनै ठूलो कुरा भएन । जापानका हालका अर्थमन्त्री पहिला प्रधानमन्त्री थिए । इजरायल र फ्रान्ससहित धेरै देशमा त्यस्तो भएको छ । नेपालमा पनि चाहना भएकाहरु जान सक्छन् ।
व्यक्तिगत रुपमा तपाईं चाहिं मुलुकका लागि आवश्यक परेको छ भनेर मन्त्री बन्न तयार बन्नुहुन्छ ?
म प्रधानमन्त्री वा मन्त्रीको चक्करभन्दा बाहिर छु । बाहिरै बसेर ‘कन्ट्रिब्युसन’ गर्न चाहन्छु ।
भूकम्पले जमिन मात्र हल्लाएन, उद्धार र राहतमा देखिएको अव्यवस्थाले सरकारसँगै राजनीतिमा रहेको तपाईंको पुस्ताप्रतिको जनविश्वास पनि हल्लियो भन्दा के फरक पर्ला ?
त्यस्तो त मैले पाएको छैन । गफ गरेर मात्र हुँदैन । कामबाट देखिनुपर्छ । अचानक अदभूत मानिस आएर गर्ने होइन । एउटा कुरा निश्चित हो कि हामीलाई गतिशील, दुरगामी सोच भएको, देश र जनताप्रति समर्पित,  सक्रिय, मिहेनती र फिल्डमा खट्ने खालको नेतृत्व चाहिएको छ । मलाई लाग्छ त्यस्ता मानिस दलभित्रै छन् । दलहरुको विकल्प कसैले नदेखे हुन्छ ।
sourcekathmandutoday.

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.