भूकम्पमा इसाईले किन पुकारे राम ?
Advertisement

यही वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि एउटा कुरा निकै चर्चामा आयो, चर्चमा प्राथना गरिरहेका इसाईहरू भूकम्पले ल्याएको विपत्मा राम राम, हे भगवान्, नारायण नारायण भन्दै बसे, दौडिए या आफूलाई बचाउने कोसिस गरे । कतिले यसलाई व्यङ्ग्यका रूपमा पनि लिए ।

सामाजिक सञ्जालहरूमा लेखियो, ‘बाह्र वर्ष बाइबल घोकायो, भूकम्प जाँदा राम राम ।’ चर्चमा प्रार्थनारत नवक्रिश्चियनहरूले किन राम नाम पुकारे भन्नेबारेमा भने खासै वास्ता गरिएको छैन । वास्तवमा यो व्यङ्ग्य गर्नुपर्नेभन्दा पनि गम्भीरतापूर्वक लिइनुपर्ने विषय हो । ०६२/६३ को जनआन्दोलनको एजेण्डाभित्र नरहेको धर्मनिरपेक्षताले यो मुलुकमा गणतन्त्रसँगै प्रवेश पाएपछि यहाँ कुनै कुराको उल्लेख्य चहलपहल छ भने त्यो धर्म परिवर्तनको छ । धर्मनिरपेक्षताको अर्थ सबै धर्मप्रति समान व्यवहार र समान दृष्टिकोण हुनुपर्ने हो, तर यहाँ त धर्मनिरपेक्षताको अर्थ धर्म परिवर्तनजस्तो भएको छ । ०६८ को जनगणनाअनुसार नेपालमा ८१.३ प्रतिशत हिन्दू, १०.७४ प्रतिशत बुद्धिष्ट, ४.२० प्रतिशत मुस्लिम र करिब १ प्रतिशत क्रिश्चियन धर्मावलम्बीहरू रहेका छन् । तर, यहाँ मन्दिरलाई छोडेर हेर्ने हो भने जसको सङ्ख्या थोरै छ, उनीहरूकै प्रार्थनागृहहरू सबैभन्दा धेरै छन् । मुस्लिम समुदायलाई आफ्नोबाहेक अरूको धर्ममा चासो छैन । उनीहरूलाई न त अन्य समुदायलाई मुसलमान बनाउनु छ न त आफू नै अन्य कुनै धर्म–समुदायको हुलमा मिसिन जानु छ । बुद्ध धर्म मान्नेहरू कसैलाई पनि कुनै प्रकारको दुःख पु-याउन चाहँदैनन् । ‘नो हार्म’ नीतिबाट निर्देशित उनीहरूको सङ्ख्या स्वस्फूर्त रूपमा बढ्दै गएको छ । तर, क्रिश्चियनहरूमा भने अरूलाई धर्म परिवर्तन गराएर आफ्नो हुलमा मिसाउने अचम्मको सोख देखिन्छ । धर्मका नाममा अनेक तिकडम गर्दै हिँड्ने काम यो मुलुकमा कुनै धर्म–समुदायबाट भएको छ भने त्यो क्रिश्चियनहरूबाट भइरहेको छ । यो पङ्क्तिकारको हरेक धर्म–समुदायप्रति उत्तिकै सद्भाव छ । हिन्दू हुनुको अर्थमा मन्दिरप्रतिको उच्च श्रद्धा त स्वाभाविक रूपमा हुने नै भयो, चर्च, मस्जिद वा गुम्बा जहाँ पुगे पनि अनायसै शिर झुक्छ ।

अहिले सहरमा मात्र होइन, गाउँगाउँमा क्रिश्चियनहरूको ठूलो अभियान नै छ– धर्म परिवर्तन गराउने । क्रिश्चियनबाहेक अन्य कुनै पनि धर्मावलम्बीहरूले अन्य धर्म मान्नेलाई तिमीहरू हिन्दू/बुद्धिष्ट या मुस्लिम बन्नुपर्छ भनेर हिँडेको थाहा छैन । धर्म, राष्ट्रियताजस्ता कुरा परिवर्तन गर्न जस्तोतस्तो मान्छेले सक्दैन पनि । धर्म, देश र आमा उस्तैउस्तै हुन् भन्ने मान्यता राख्नेहरूले जस्तोसुकै परिस्थितिमा पनि धर्म परिवर्तन गर्न सक्दैनन् । तर, हामीकहाँ अवस्था अलि फरक छ । भोको पेटले राष्ट्रियताको गीत गाउँदैन भनेजस्तै गरिबीको आडमा धर्म परिवर्तन गराउनेहरू यहाँ सक्रिय छन् । कतिपय अवस्थामा विभेदले पनि काम गरेको छ । मान्छेले गरेका विभेदपूर्ण व्यवहारलाई धर्मसँग जोडेर हाम्रो धर्मले कुनै प्रकारको विभेद गर्दैन भनेर पनि कतिपयलाई इसाई बनाइएको छ ।

धर्म भन्ने कुरा मान्छेको जीवन पद्धतिको एक हिस्सा हो । आफूले बच्चामा अभ्यास गरेको कुराले जिन्दगीभर पिछा गरिरहेको हुन्छ, चाहे त्यो दुःखमा होस् या सुखमा । अहिले भूकम्प जाँदा मुखबाट निस्किएको नारायण नारायण या राम राम पनि त्यस्तै हो । धर्म त मानिसले बच्चैदेखि ‘इन्टरनलाइज’ गरेको हुन्छ । पछि ठूलो भएपछि या बुढेसकाल लाग्दै गर्दा परिवर्तन गरेँ भनेर बाहिरी रूपमा भनिए पनि या परिवर्तन गरिए पनि अन्तस्करणमा आफ्नो संस्कार लुकिरहेको हुन्छ । जसरी आमा स्वर्ग भएको वर्षौं बितिसक्दा पनि मानिसले दुःखमा, आपत्–विपत्मा ‘आमा’ भन्ने शब्द नै निकाल्छ त्यसैगरी बच्चादेखिको आस्था र अभ्यासको स्थान कसैको उक्साहटमा आएर परिवर्तन गरिएको धर्मले लिनै सकेन । परिणाम जिन्दगीमा कहिल्यै नभोगेको आपत्विपत् आइलाग्दा उनीहरूले आफ्नो आस्थालाई सम्झिए र मुखबाट अनायसै निस्कियो– राम राम, नारायण नारायण । जुन पुकार प्रायः जीवनको अन्तिम सत्यसँग साक्षात्कार गर्दै गर्दा पनि गरिन्छ । यसलाई हामीले स्वाभाविक मान्नुपर्छ, यो अस्वाभाविक कुनै पनि अर्थमा होइन । अस्वाभाविक र अनैतिक त धर्म परिवर्तन गर्नु र गराउनु हो । हो, कतिपय मानिस सिद्धान्तमा सहमत भएर आफैँ निष्कर्षमा पुगेर धर्म परिवर्तन गर्छन् । विश्वमा केही प्रतिशत मानिस यस्ता पनि छन् जसले इसाईबाट आफूलाई हिन्दू बनाएका छन् । कतिपय आफ्नै इच्छाले मुस्लिम बनेका छन् । कुनै करकापले नभई आफैं पूर्ण रूपमा झुकाब राख्ने अवस्थामा पुगेर गरिएका धर्म परिवर्तनले मानिसलाई भित्रैबाट फरक रूपमा घचघच्याएको हुन्छ । त्यस्ता मानिसले दुःख पर्दा पनि आफूले चाहेर अपनाएको धार्मिक आस्थाका धरोहरहरूलाई नै सम्झन्छन् । जस्तो, चर्चमा उक्त दिन प्रार्थना गर्ने सबैले राम या नारायणलाई सम्झिएनन्, प्रभु यशुलाई नै सम्झिए होलान् किनभने उनीहरू जन्मिँदै क्रिश्चियन धर्मावलम्बीका रूपमा जन्मिएका हुनसक्छन् या पछि भएका भए पनि पूर्ण आस्थाका साथ भएका हुनसक्छन् ।

दक्षिण अफ्रिकाकी नेतृ बिन्नी मण्डेलाले आफ्नो आत्मकथामा लेखेकी छिन्– ‘मेरी आमा भन्नुहुन्थ्यो यी गोराहरू यहाँ (दक्षिण अफ्रिका) आउँदा उनीहरूको हातमा बाइबल थियो र हाम्रो साथमा जमिन, अहिले हाम्रो हातमा बाइबल छ र उनीहरूको साथमा जमिन ।’ उनको जीवनी पढ्दै गर्दा मैले तीनपल्ट यो लाइन दोहो-याएकी थिएँ । बाइबलआतङ्क गरिब मुलुकहरूमा जहाँ पनि थियो र छ । अहिले विनाशकारी भूकम्पपछि विभिन्न स्थानमा राहतसँगै बाइवल बाँडिएका समाचारहरू सार्वजनिक भएका छन् । राहतका रूपमा बाहिरबाट बाइबल आएका समाचारहरू विश्वव्यापी रूपमै भाइरल भएपछि ती समाचार लिङ्कहरू अहिले हटाइएका छन् । अचम्म लाग्छ, गरिबीका बीचमा, आपत्विपत्का बेला चलखेल गर्ने पनि धर्म हुन्छ ? धर्मले त विपत्मा सबैलाई बराबरी रूपमा हेर्नुपर्ने हो, तर यहाँ त क्रिश्चियनहरूलाई मात्र भनेर राहत बाँड्ने, राहत लिने या नयाँ घर बनाउने अवस्थामा पुग्ने हो भने धर्म परिवर्तन गर भन्ने, अनि यसरी ट्रयापमा पारेर गराइएको धर्म परिवर्तनले कसरी यशुको नाम जप्न सक्छ त ? गत वर्ष दोलखाका एक दलित वृद्धले यस पङ्क्तिकारसँग भनेका थिए, ‘छोराबुहारीले भनेर क्रिश्चियन त बनियो, तर मरेपछि १३ दिने काजकिरिया हुँदैन भनेर धेरै दुःख लागेको छ ।’ सन्तानको वचन काट्न नसकेर धर्म परिवर्तन गरे पनि उनको आत्माले मरेपछि चाहिँ हिन्दू परम्पराअनुरूपकै काजकिरिया खोजेको छ । आफ्नो संस्कार मान्छेले जतिसुकै समुद्रपारि गए पनि भुल्न सक्दैन भने उनी त त्यही घरमा छन् जहाँ जन्मिएका थिए । हिन्दू परम्पराबाटै न्वारान, पास्नी, ब्रतबन्ध, विवाह भइसकेपछि मृत्यु संस्कार मात्रै अर्को होला कि भन्ने चिन्ता हुनु स्वाभाविक हो । यस्तो बेलामा जीवनको अन्तिम सत्यसँग जुध्दै गर्दा उनले मुखमा गंगाजल हालिदेऊ या मलाई तुलसीको मठमा लगिदेऊ भन्नु के आश्चार्यको कुरा भयो र ?

स्रोत : घटना र बिचार

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.