मोदीलाई नेपाल बोलाउन दौडधुप
Advertisement
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले फेरि एकपटक चर्चा पाउने भएको छ।
नेपाल सरकारले आगामी असार १० गते मोदीलाई काठमाडौं निम्त्याउन लागेको छ। भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिन बुधबार अर्थमन्त्री डा. रामशरण महतको दिल्ली भ्रमण तय भएको छ। मन्त्री महतले मोदी काठमाडौं आउने-नआउने टुंगो लगाएर फर्कनेछन्।
भूकम्प पीडितलाई सहयोग जुटाउने उद्देश्यले नेपालले आयोजना गर्न लागेको दाता सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीलाई अतिथिका रुपमा निम्त्याउन लागिएको हो। सम्मेलनमा विभिन्न ६५ वटा दातृ निकाय र मित्रराष्ट्रहरुको सहभागिता रहने नेपाल सरकारले जनाएको छ।
नेपालमा भूकम्प जानासाथ भारतीय प्रधानमन्त्री मोदीले सहयोगका लागि तदरुकता देखाएका थिए। आगामी असार १० मा भूकम्प पीडितकै लागि सम्मेलन गर्न लागिएकाले मोदीले नेपालको निम्तो स्वीकार्ने अनुमान नेपाल सरकारको छ।
तेस्रोपटक काठमाडौं आउन पाउन मोदीका लागि अवसरसमेत हुनेछ । नेपाल भारतवीचको सम्बन्धलाई न्यानो बनाउने अवसरका रुपमा मोदीले यसलाई उपयोग गर्ने धेरैको अनुमान छ। यसैवीच सार्क सम्मेलनका बेला अधुरो रहेको मोदीको जनकपुर र लुम्बिनी भ्रमण पनि यसपालि पूरा हुने सम्भावना छ।
चीनलाई दबाव
नेपालमा हुने दाता सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले आतिथ्य ग्रहण गर्ने अवस्था आएमा यसबाट अर्को छिमेकी चीनलाई समेत नैतिक दबाव पर्नेछ। नेपालका लागि भने भारत र चीन दुबै देशका सरकार प्रमुखहरु दाता सम्मेलनमा आएको अवस्थामा विश्वको ध्यान तान्न सहयोग पुग्नेछ।
भौगोलिक एवं राजनीतिक सन्तुलनको हिसाबले पनि नेपालले दुबै देशलाई महत्व दिनु जरुरी देखिन्छ। नेपाल सरकारले भारतजस्तै चीनलाई पनि दाता सम्मेलनमा उच्चस्तरीय सहभागिताका लागि निम्त्याइने बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला दुबै देशका सरकार प्रमुखले नेपालका भूकम्प पीडितलाई सहयोग गर्ने बचनवद्धतासमेत जनाइसकेको अवस्था छ। source taja khabar
Advertisement