भारतमा गर्मीबाट मर्नेको संख्या २२ सय नाघ्यो......!
Advertisement

भारतमा गर्मीबाट मर्नेको संख्या २२ सय नाघ्यो......! हैदराबाद (भारत)- जेठ १८ - भारतमा आइतबार परेको फाटफूट वर्षाले प्रचण्ड गर्मीमा पिल्सिइरहेका भारतीयलाई केही राहत दिए पनि गर्मीबाट मृत्यु हुनेको संख्या भने २२ सय नाघेको छ। गर्मीबाट सर्वाधिक प्रभावित दक्षिणी राज्य आन्ध्र प्रदेश, तेलंगाना र राजधानी दिल्लीलगायत केही भूभागमा आइतबार मेघ गर्जनसहित भएको फाटफूट वर्षाले त्यहाँका बासिन्दालाई केही राहत दिएको थियो।




सरकारी अधिकारीले यसपल्टको गर्मी र गर्मीका कारण भएको मृत्यु दुई दशकयताकै सबैभन्दा बढी भएको जनाए। राजधानी दिल्लीमा आइतबार परेको झरीले केही राहत दिए पनि दिउँसो भने तापक्रम बढेर फेरि ४३ डिग्री सेल्सियस पुगेको थियो। प्रकोप व्यवस्थापनका वरिष्ठ अधिकारी पी तुलसीरानीका अनुसार आन्ध्र प्रदेशमा मृतक संख्या १६ सय ३६ पुगेको छ। छिमेकी राज्य तेलंगानामा गर्मीबाट मृत्यु हुनेको संख्या ५ सय ४१ पुगेको छ। अस्पतालमा गर्मीबाट भएका बिरामीको भिड थामी नसक्नु भएको एक अधिकारीले बताए। भारतको अर्को पूर्वी राज्य उडिसामा २१ जनाको मृत्यु भएको जानकारी सरकारी समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाले दिएको छ। पिटिआईले अन्यत्र नौ जनाको मृत्यु भएको उल्लेख गरेको छ।




 तर मनसुनको समय भए पनि अहिलेसम्म सुरु हुने कुनै लक्षण देखिएको छैन। गर्मीका कारण मृतक संख्या उकालो लागिरहेको छ। भारतको जलवायु तथा मौसम विभागले दक्षिणी, पश्चिमी र उत्तरी भारतमा तापक्रम अझै बढ्ने चेतावनी दिएको छ। ती सबै क्षेत्रमा तापक्रम ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट)भन्दा माथि जाने चेतावनी विभागले दिएको छ। भारतमा बर्सेनि अप्रिल/मेमा हुने उग्र गर्मीका कारण खास गरी गरिब र दैनिक मजदुरी गर्नेहरूको मृत्यु हुने गरेको छ।



तर यसपल्ट भने गर्मीबाट हुने मृत्युको संख्या सन् १९९५ यताकै सर्वाधिक हो। सन् १९९५ मा गर्मीका कारण १६ सय ७७ जना भारतीयको मृत्यु भएको थियो। सामान्यतया भारतमा यस बेला हुने गर्मीको अवधिभन्दा यसपल्ट धेरै दिन रहेको छ। मनसुनी वर्षाको व्यग्रतापूर्वक प्रतिक्षा भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले मासिक रेडियो कार्यक्रममा आइतबार अहिलेको ज्यानमारा गर्मीबाट आफूलाई जोगाउन भारतीयसँग अनुरोध गरे। भारतमा अधिकतम तापक्रम ४५ डिग्री पुगेपछि अथवा गत वर्षको अधिकतम तापक्रमभन्दा पाँच डिग्री बढी भएपछि प्रशासनले 'गर्मीको प्रकोप' घोषणा गर्ने गरेको छ।




मौसम विभागले मे ३० मा नै दक्षिणी राज्य केरलमा मनसुन आइपुग्ने अनुमान गरेको भए पनि बंगालको खाडीमा मनसुनको गति सुस्त भएको जनाएको छ। विभागले तटीय क्षेत्रमा सोमबार मनसुनी वर्षा सुरु हुने र भारतभर वर्षा हुन एक साता लाग्ने अनुमान गरेको छ। source  taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.