प्रचण्ड र बाबुराम : झगडिया ‘लोग्ने-स्वास्नी’ जस्तै
Advertisement

२४ जेठ, काठमाडौं । एमाओवादीका दुई शीर्षनेता प्रचण्ड र बाबुरामवीचको सम्बन्ध रातदिन झगडा गरेर सँगै बस्न नसक्ने अवस्थामा पुगेका पति-पत्नीको जस्तै बनेको छ । मन नपरेकी पत्नी आफैं हिँडिदिए हुन्थ्यो भन्ने लोग्नेको चाहना भएजस्तै प्रचण्डपक्षको चाहना पनि बाबुराम भट्टराई समूह आफैं पार्टीबाट अलग भइदिए नयाँ तरिकाले घरजम बसाउन सजिलो हुन्थ्यो भन्ने देखिएको छ । तर, भट्टराई समूहको रणनीतिचाँहि यति सजिलै आफूले बनाएको घर छाडेर हिँडिदैन, बरु यहीँ बसेर लोग्नेलाई पिरोलिन्छ भन्ने किसिमको देखिएको छ ।

बाबुराम पक्षको विश्लेषण
‘पार्टी फुटाउनेलाई जनता र कार्यकर्ता कसैले पनि राम्रो मान्दैनन्, त्यसैले हामीले पार्टी छाड्ने वा फुटाउने काम गर्नुहुँदैन । संविधानसभा रहुञ्जेल यहीँभित्रबाट अन्तरसंघर्ष गरिरहनुपर्छ, डा. बाबुराम भट्टराईको आन्तरिक निर्देशनबारे जानकारी दिँदै एक केन्द्रीय सदस्य भन्छन्,-’आफूले दशकौं दुःख गरेर बनाएको पार्टी सरक्कै अरुलाई छाडेर हिँडिँदैन । यो पार्टी हाम्रो पनि हो । ‘



बाबुराम पक्षको थप विश्लेषण छ, ‘प्रचण्डपक्ष भिन्नमत पक्षधरलाई हटाएर पार्टी एकलौटीरुपमा कब्जा गर्न चाहन्छ, त्यसैले ऊ बाबुराम पक्षले पार्टी फुटाएर हिँडिदिएहुन्थ्यो भन्ने चाहिरहेको छ ।’ तर, प्रचण्डपक्षको यो चाहना पूरा हुन नदिनु र पार्टीभित्रै बसेर प्रचण्डविरुद्ध संघर्ष चलाउनु भट्टराई पक्षको तात्कालीक रणनीति हो ।प्रचण्ड पक्षको पनि आफ्नै रणनीतिक विश्लेषण छ । प्रचण्ड पक्षधर नेता भन्छन्-’बाबुरामले नयाँ शक्ति बनाउने भनिसकेका छन्, त्यसैले उनी पार्टीमा टाँसिइराखेर पार्टीभित्रै अर्को समानान्तर गुट बनाउँदै शक्ति आर्जन गर्न र अन्ततः नयाँ पार्टी बनाउन चाहन्छन् । तर, उनीहरु कमसेकम संविधानसभा रहुञ्जेल अर्को पार्टी गठन गर्ने योजनामा छैनन् ।’

प्रचण्ड पक्षको रणनीति
प्रचण्ड पक्षका एक केन्द्रीय सदस्य भन्छन्- ‘बाबुरामले तत्कालै पार्टी फुटाउँदैनन्, उनलाई भारतले एमाओवादीभित्रै बस्नू र प्रचण्डलाई कमजोर पार्नू भन्ने निर्देशन दिएको थाहा भएको छ । अहिल्यै पार्टी फुटाउँदा आफ्नो स्थिति कमजोर हुन्छ भन्ने बाबुरामलाई राम्रोसित थाहा छ ।’

प्रचण्ड र बाबुराम दुबै पक्षको यो आन्तरिक दाउपेच र रणनीतिलाई हेर्दा यी दुई नेतावीचको सम्बन्ध सँगै बस्न नसक्ने अवस्थामा पुगिसकेका लोग्ने-स्वास्नी औपचारिक नाताभन्दा फरक देखिँदैन । सम्बन्धविच्छेदले वैधानिकता पाउन नसकेको यो सम्बन्धलाई मोहनविक्रम सिंहले विगतमा भन्ने गरेको ‘न सम्बन्ध, न सम्बन्धविच्छेद’को नीतिसँग तुलना गर्न सकिन्छ ।’

प्रचण्ड पक्षले हालै भएको कार्यविभाजनमा भट्टराई पक्षलाई कुनै विभेद नगरिएको दाबी गरेको छ । ‘पार्टीको नीतिअनुसार नै कार्यविभाजन भएको हो’ प्रचण्ड पक्षका नेता भन्छन्- ‘उम्मेदवारी नदिँदा पनि उहाँहरुलाई हाम्रो साथीहरुले जिताइदिनुभो । धन्यवाद भनेर जिम्मेवारी लिनुपर्नेमा लिन्नौं भनेपछि हामीले के गर्ने ?’

प्रचण्ड पक्षको दाबीअनुसार पोलिटब्यूरोसहितको पद स्वीकार गरेको भए भट्टराई पक्षका नेताहरुले थप जिम्मेवारी पाउने थिए । तर, राज्य समितिमा नयाँलाई राख्ने नीति बनाइएकाले पुरानाले ठाउँ नपाएका हुन् । यद्यपि जिम्मेवारी स्वीकार गरेको भए भट्टराई पक्षका गंगानारायण श्रेष्ठ, वामदेव क्षेत्रीसहितका केही नेता राज्य समिति इन्चार्ज हुने थिए ।

तर, पार्टीमै बसेर पार्टीलाई अप्ठ्यारो पार्ने र अध्यक्षलाई असफल पार्ने नीति लिएको भट्टराई पक्षले हलो अड्काएर गोर पिट्ने नीति लिएको प्रचण्ड पक्षको गुनासो छ । ‘पार्टी फुटाउनु छ भने छाडेर गए भैहाल्यो नि, पार्टी पनि नछाड्ने र काम गर्न पनि नदिने नीति उहाँहरुले लिनुभएको छ’, प्रचण्ड पक्षका नेता भन्छन्-’तर, हामीले उहाँहरुको रणनीति राम्रोसँग बुझेका छौं, त्यसैले पार्टी रोकिनेवाला छैन, जति डिस्टर्ब गरे पनि पार्टी अगाडि बढ्छ ।

वैद्यको नेतृत्वमा संगठित शक्ति फुटेर जाँदा त पार्टी टिक्यो भने बाबुराम समूहले पार्टी छाडे पनि कमजोर नहुने दाबी प्रचण्ड पक्षका केही नेताले गरेका छन् ।

प्रचण्ड थप कमजोर बन्ने बाबुराम पक्षको दाबी

‘नेपाली राजनीतिमा प्रचण्डको अब उत्थान सम्भव छैन । छोराका कारणले पारिवारिक स्थिति पनि राम्रो छैन । पार्टीभित्रको आर्थिक अनियमितता र लडाकूका नाममा भएको भ्रष्टाचारका कारण पूर्वलडाकूको तलबार उनको टाउकामा झुण्डिएको छ,’ बाबुराम पक्षका एक नेताले भन्छन्- ‘कुनबेला आफूमाथि अख्तियार लाग्ने हो भन्ने डरले गर्दा प्रचण्ड रातदिन तनावमा छन्, सुगर र प्रेसर बढिरहेको छ, अब उनीबाट समग्र पार्टीको नेतृत्व सम्भव छैन ।’

एमाओवादी अध्यक्ष प्रचण्ड आफ्नै कोटरीका नेताहरुबाट पनि कमजोर बनेको बाबुराम पक्षको पछिल्लो बुझाइ छ । शक्ति बस्नेत, हितराज पाण्डे, लेखराज भट्ट, गोपाल किराती, लोकेन्द्र विष्ट र जनार्दन शर्माजस्ता प्रचण्डका दाहिने हात मानिएका दोस्रो पुस्ताका नेतालाई समेत प्रचण्डले चित्त बुझाउन नसकेको भन्दै भट्टराई पक्षले यसमा खेल्ने प्रयास गरेको छ ।

त्यस्तै अन्य पार्टीबाट एमाओवादीमा आएका र आफूलाई बलियो गरी साथ दिइरहेका रामचन्द्र झा, उर्मिला अर्याललगायतलाई पनि प्रचण्ड पक्षले किनारामा पारेको भट्टराई पक्षको विश्लेषण छ । विश्वनाथ साह र दीनानाथ शर्मालाई पनि प्रचण्डले चित्त दुखाएको विश्लेषण भट्टराई पक्षको छ । विगतमा नारायणकाजी समूहबाट एमाओवादीमा आएका तर प्रचण्डलाई साथ दिँदै आएका अमिक शेरचन, लीलामणि पोखरेल लगायतका नेतालाई पनि प्रचण्डको किचेन क्याबिनेटले विस्तारै साइड लगाएको भट्टराई पक्षको आरोप छ । यिनै तर्कका आधारमा भट्टराई पक्षका नेता भन्छन्- ‘अब प्रचण्डको नेतृत्वमा पार्टी अगाडि बढ्न कुनै पनि हालतमा सम्भव छैन ।’

वैद्यलाई ल्याए मोहनविक्रम बन्ने
मोहन वैद्यसँग पार्टी एकीकरण गरेको अवस्थामा प्रचण्डको राजनीतिक पराजय हुने र वैद्य पक्षको जडसूत्रीय राजनीति हावी हुने बाबुराम पक्षको बुझाइ छ । त्यस्तो लाइनले पार्टीलाई पुनः युद्धमा फर्काउन वस्तुगत र आत्मगत अवस्थाले सम्भव नभएपछि क्रान्तिको कुरा गर्ने तर क्रान्ति नगर्ने मोहनविक्रम सिंहको लाइनमा पार्टी पुग्न सक्ने भट्टराई पक्षका नेताको विश्लेषण छ । यस्तो अवस्थामा पार्टी नयाँ पुस्तामा विस्तार हुन नसकी अझै सानो हुँदै जाने दाबी भट्टराई पक्षीय नेताले गर्न थालेका छन् ।

विशेष महाधिवेशन बहानामात्रै
प्रचण्ड र बाबुराम दुबै पक्षले विशेष महाधिवेशनसम्म वैचारिक संघर्ष गर्दै अघि बढ्ने बताएका छन् । तर, त्यो विशेष महाधिवेशन पनि बिराटनगर सम्मेलनजस्तै हुनेमा भट्टराई पक्ष स्पष्ट छ । प्रचण्ड पक्ष पनि त्यस्तो महाधिवशेनले प्रचण्डको शक्तिलाई कमजोर नपार्नेमा ढुक्क छ । त्यसैले विशेष महाधिवेशनसम्म प्रचण्ड र बाबुराम पक्षको विवाद टिक्छ या टिक्दैन भन्नेमा दुबै पक्षका नेता अन्योलमा छन् ।


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.