छात्रामा मास हिस्टेरिया !!!
Advertisement

दाङ, असार ३ - लक्ष्मीपुर ३ स्थित मावि झिङ्नी बन्जारीका छात्रालाई मास हिस्टेरियाको समस्या देखिएपछि विद्यालय बन्द गरिएको छ । बुधबारदेखि सुरु यो समस्या आइतबारसम्म बढ्दै गएपछि विद्यार्थी आतंकित भएका छन् ।

सुरुमा ६ कक्षामा समस्या देखिएको र बिस्तारै ७, ८, ९ र १० कक्षासम्म फैलिएको प्राधानाध्यापक तानबहादुर बीसीले बताए । 'पेट दुख्यो, टाउको दुख्यो भनेर एउटा कराउन, चिच्याउन थाल्छ, त्यसपछि अरू पनि कराउँदै पल्टिन थाल्छन्,' उनले भने, 'बिस्तारै माथिल्लो कक्षाका छात्रामा यो समस्या फैलिँदै गयो ।'


हालसम्म १८ जना यसरी बिरामी भइसकेको उनले बताए । बुधबारदेखि आइतबारसम्म हरेक दिन ५/६ जनाका दरले छात्रा बिरामी पर्ने गरेको उनले बताए । बिरामी हुने क्रम बढेपछि सोमबारदेखि विद्यालय बन्द गरेको बीसीले जानकारी दिए । 'अचम्म लाग्दो समस्या देखियो, पढ्दापढ्दै केटीहरू एकाएक पल्टिन थाले,' उनले भने, 'एकपछि अर्को पल्टन थालेपछि विद्यालयभरि आतंक फैलियो । सबै माथिल्लो कक्षाका केटीमा मात्रै समस्या देखिएको छ । पढाइ सञ्चालन गर्ने वातावरण नै भएन ।'

आइतबार गम्भीर बिरामी भएका ५ जनालाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार गरिएको छ । ९ कक्षाकी होसना लिम्बू, भीमा बिक, ८ कक्षाकी वसन्ता पाण्डे, ६ कक्षाकी सावित्री नेपाली र ३ कक्षाकी पूणिर्मा नेपालीको अस्पतालमा उपचार भइरहेको छ । 'दोस्रो घन्टी पढिरहेका बेला एक्कासि साथीहरू पेट दुख्यो, रिङटा लाग्यो भनेर कराउन थाले,' साथीको उपचारका लागि अस्पताल आएकी ९ कक्षाकी विष्णी श्रेष्ठले भनिन्, 'बिस्तारै अरू पनि त्यस्तै गर्न थाले । हामी त डराएर निकै करायौं ।'

साथीहरूलाई देखेर आफूलाई पनि डर लाग्ने गरेको ६ कक्षाकी सुस्मिता नेपालीले बताइन् । 'साथी रोएको, कराएको देख्दा आफूलाई पनि त्यस्तै होला जस्तो हुन्छ,' उनले भनिन्, 'एकछिन केही नभएको मान्छे एक्कासि बिरामी परेको देख्दा हामी अचम्ममा परेका छौं । साथीहरू फटाफट बिरामी भएको देखेपछि हामीलाई पढ्नै मन लागेन ।'

यो मास हिस्टेरिया भएको छात्राहरूको उपचारमा संलग्न राप्ती उपक्षेत्रीय अस्पतालका बालरोग विशेषज्ञ डा. प्रकाश जोशीले बताए । 'यो मानसिक समस्या हो । यसको खास कारण केही हुँदैन,' उनले भने, 'एउटालाई भएपछि अरू पनि उस्तै गर्न थाल्छन् । केही समयपछि यो आफैं ठीक हुँदै जान्छ ।' किशोरावस्थाका छात्रामा मास हिस्टेरियाको प्रबल सम्भावना हुने गरेको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. विकास देवकोटाले बताए । 'यो अनुकरण गर्न मन लाग्ने भएर आफसेआफ सबैमा फैलँदै जान्छ । यो केटाकेटी जसलाई पनि हुन सक्छ तर केटीहरूमा बढी सम्भावना हुन्छ,' उनले भने, 'यसमा एउटाबाट अर्कोले अनुकरण गर्ने कुरा बढ्दै जान्छ । सान्त्वना दिए बिस्तारै ठीक हुँदै जान्छ ।
     स्रोत  # ई-कान्तिपुर 


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.