सिटामोल लिन आठ घन्टा पैदल स्थानीयलाई सामान्य रुघाखोकी लागे पनि ठूलै चिन्ताले सताउँछ । सिटामोल लिन जान पनि आठ घन्टा पैदलदूरी हिँड्नुपर्ने भएपछि उनीहरू सामान्य औषधि पनि खान नपाउने अवस्थामा छन् ।
Advertisement

रोकायगाउँ–१ पहाडा मुल्सामका स्थानीयलाई सामान्य रुघाखोकी लागे पनि ठूलै चिन्ताले सताउँछ । सिटामोल लिन जान पनि आठ घन्टा पैदलदूरी हिँड्नुपर्ने भएपछि उनीहरू सामान्य औषधि पनि खान नपाउने अवस्थामा छन् । मुल्सामबाट आठ घन्टा हिँडेपछि वडा नं ९ को लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा पुगिन्छ ।

प्राथमिक स्वास्थ्य केन्द्र कहिले खुल्छ र बन्द हुन्छ ठेगान हुन्न । त्यसकारण कर्णाली अञ्चलको जुम्ला जिल्लासँग सिमाना जोडिएको रोकायगाउँको वडा नं १ र २ का बासिन्दा औषधि खान नपाउने बाध्यतामा छन् । सरकारले उपलब्ध गराउने नि:शुल्क स्वास्थ्य सेवा कागलाई बेल पाक्यो हर्ष न विस्मात भएको मुल्साका स्थानीय भूमिलाल रोकायले बताए । ‘स्वास्थ्य संस्था टाढा छ, गाउँमा कोही बिरामी परे धामीझाँक्रीको भर पर्नु यहाँको प्रचलन नै बनेको छ,’ रोकायले भने, ‘गाउँबाट प्राथमिक स्वास्थ्य केन्द्र जान एक दिन लाग्छ, बिरामी बोकेर जाँदा त झन् धेरै समय लाग्छ ।’ यो समस्या जाजरकोटका दुर्गम गाउँको साझा हो । जिल्लाका कतिपय स्थानमा सामान्य रोगको उपचारका लागि एक दिनभन्दा बढी हिँड्नुपर्ने बाध्यता छ । स्वास्थ्य संस्था निकै टाढा हुने भएकाले दुर्गमका बासिन्दाले यस्तो नियति भोग्नुपरेको हो । दुर्गमका बासिन्दाले बालबालिकाको नियमित खोप, महिलाको गर्भ जाँच र सुरक्षित सुत्केरी सुविधा पनि पाउने गरेका छैनन् । ‘बिरामीले त उपचार पाउने सम्भावना छैन, खोप र गर्भ जाँचको कुरा टाढाको विषय हो,’ स्याला मुल्सामका वीरबहादुर बोहराले भने, ‘हाम्रा लागि सबै देउताले हेर्छन्, डाक्टर कसरी उपचार गर्छन्, त्यो हामीलाई थाहा छैन ।’ रोकायगाउँजस्तै जिल्लाका दुई दर्जन गाविसका दुर्गममा बस्ने स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित छन् । भगवतीको सिउन, खगेनकोटको मंसिरी, पजारुको टीकाचौर, दहको जर्कनिपाने, नायकवाडाको जिरी लिम्क, पैंकको चाल्नलगायतका ठाउँका स्थानीयले स्वास्थ्य सुविधा पाउन सकेका छैनन् । भौगोलिक विकटता र यातायात सुविधाको अभावले दुर्गमका स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित भएका हुन् । स्थानीयको स्वास्थ्य संस्थासम्म सहज पहुँच नभएका कारण सामान्य रोग पनि महामारीका रूपमा फैलने गरेको छ । ०६६ सालमा फैलिएको झाडापखाला र गत चैतमा फैलिएको मौसमी फ्लुले महामारीको रूप लिएको थियो । झाडापखालाबाट तीन सयभन्दा बढी र मौसमी फ्लुबाट दुई दर्जनभन्दा बढीको उपचार अभावमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । झाडापखाला फैलँदा दर्जनौँ बिरामीको त उपचारका लागि स्वास्थ्य संस्था ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।source:nayapatrica

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.